सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी र पहिरोमा परी ९ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, अछामको रामारोशन गाउँपालिकाको कैलाशखोलाको बाढीले पाँच जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।
गएराति परेको अबिरल बर्षापछि आएको बाढीले रामारोशन गाउँपालिका–५ सैनिबजारबाट बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ।
तीन जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको र दुई जनाको शव मंगलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा भेटिएको बताए।
बुङगल नगरपालिका–५ मिडीमा गए राति गएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा १४ बर्षीय सचिन ताम्राकार र बुङ्गल नगरपालिका–४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडाको मृत्यु भएको हो।
बाजुरामा पनि दुई जनाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका १ का मीनबहादुर बुढाकी ३ वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको बताए।
बढीगाढ र धूपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ। बुढीनन्दा गाउँपालिका–६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको छ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर अछामको मंगलसेन पुगेको छ। सुर्खेतबाट उक्त हेलिकप्टर अछाम आइपुगेको हो। बाढीमा बेपत्ताको खोज तथा उद्दारको लागि बिहानै देखि नेपाल प्रहरी र स्थानीय खटिएका छन्।