सुशान्त सिंहको मृत्यु छानविन गर्न सीबीआईलाई सर्वोच्च अदालतको आदेश
सुशान्त सिंह राजपुतको मृत्यु सम्बन्धी सबै कागजात सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)लाई हस्तान्तरण गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ।
आज सर्वोच्च अदालतले बलिउड कलाकार राजपुतको मृत्यु सम्बन्धी अनुसन्धान सीबीआईलाई दिनुपर्ने विहार सरकारको धारणालाई स्वीकार गरेको हो।
राजपुतका बुवाले दिएको जाहेरी दर्ता गर्ने अधिकार विहार प्रहरीलाई भएको भन्दै सर्वोच्च अदालतले त्यसलाई सीबीआईमा हस्तान्तरण गर्न भनेको हो। सुशान्त सिंहको आत्महत्या सम्बन्धी घटनाको अनुसन्धानमा विहार र मुब्बई प्रहरीका बीचमा क्षेत्राधिकार विवाद थियो।
विहार र महाराष्ट्र राज्यका प्रहरीले अनुसन्धान गर्ने अधिकार आफूलाई भएको दावी गर्दै एक(अर्काको अनुसन्धानमा असहयोग गर्दै आएका छन्। सर्वोच्चले महाराष्ट्र प्रहरीलाई सम्पूर्ण कागजात सीबीआईलाई हस्तान्तरण गर्न र अनुसन्धानमा आवश्यक सहयोग गर्न आदेश गरेको हो।
३४ वर्षीय कलाकार राजपुत १४ जुन २०२० मा मृत भेटिएका थिए। रिया चक्रवर्तीले घटनाको छानविन सीबीआईले गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। रियाले आफूलाई सुशान्तको प्रेमिकाको रूपमा चिनाउँछिन् तर, सुशान्तका बाबुले भने घटनामा रियाको हात भएको आरोप लगाउँदै आएका छन्।