पहिरोमा पुरिएर दैलेखमा एक बालकको मृत्यु, दुई बेपत्ता
दैलेखको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा मंगलबार राति पहिरोमा पुरिएर १२ वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार, जनक कठायतको पहिरोमा पुरिएर मृत्यु भएको हो। ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ वर्षीय लोकेश कठायत र भगवतीमाई गाउँपालिका–५ कट्टीमा ६६ वर्षीय बलबहादुर रावत पहिरोमा परी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर ओलीले बताए। साथीसँग सुत्न गएका ११ वर्षीय बालक कठायत बेपत्ता भएका हुन्।
गैरागाउँमा ठाँटीकाँधको प्रहरी टोली र कट्टीमा बेस्तडा प्रहरी चौकीको टोली गएपनि थप विवरण लिन बाँकी रहेको डीएसपी ओलीले बताए।
गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको छ। पहिरोमा परी एकै घरका ४ जनासहित ६ जना घाइते भएकाहरुको उद्धार र बेपत्ताको खोजी कार्य भइरहेको छ।
-यज्ञराज थापा, दैलेख