'देशद्रोही' म्यूजिक भिडिओ अपलोड गरेको अभियोगमा नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडिओ यूट्युबमा राखेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
मङ्गोलहप अफिसियल नामक यूट्युबमा राखिएको ‘देशद्रोही’ गीतको म्यूजिक भिडिओमा राष्ट्रिय झण्डा जलाएको घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
भिडिओमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखिएपछि यसको तीव्र आलोचना भइरहेको छ। र्याप शैलीको गीत यूट्युबमा १ भदौमा सार्वजनिक गरिएको थियो।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गीतमा प्रतिबन्ध लगाएर यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरिरहेका छन्। पक्राउ गरिएकाहरुलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।
उक्त म्यूजिक भिडिओमा नेपालको राष्ट्रियता एवं जातीय सद्भावबारे घृणा फैलाउन खोजिएको र धार्मिक आस्थामाथि प्रहार गरिएको आरोप लागेको छ।