आज रातिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा
कोरोनाभाइरसको संक्रमण जोखिम बढेपछि काठमाडौं उपत्यकामा आज मध्यराति १२ बजेदेखि एक सातासम्म निषेधाज्ञा लगाइँदै छ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिहरुको हिजो बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
बैठकमा तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरु सहभागी थिए।
निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूमाथि कानूनी कारबाही गर्ने पनि सुरक्षा समितिको बैठकमा निर्णय भएको छ।
जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेमाथि कानून बमोजिम कारबाही गर्ने समेत निर्णय भएको छ।