पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
यूरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा लाइपजिगलाई पराजित गर्दै पहिलो पटक पीएसजी फाइनलमा पुगेको छ। मंगलबार राति लाइपजिग विरुद्ध पीएसजीले सहज जित निकाल्दै फाइनल पुगेको हो।
बलियो टीम लाइपजिगसँग पीएसजीले तीन–शून्यको सहज जित निकालेको छ। खेलको १३औं मिनेटमै मार्किन्यूसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। डिमारियाको असिस्टमा उनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
४२औं मिनेटमा नेयमारको असिस्टमा डिमारियाले गोल गरे। पहिलो हाफमा दुई–शून्यको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गरेको थियो। ५६औं मिनेटमा पीएसजीका लागि तेस्रो गोल डिफेन्डर बर्नेटले गरे। यसपटक डिमारियाले असिस्ट गरे।
डिफेन्स लाइन बलियो रहेको पीएसजीका लागि तीन स्ट्राइकर नेयमार, एम्बाप्पे र डिमारिया बीच राम्रो सन्तुलन देखियो। पहिलो पटक फाइनल पुगेको पीएसजीले अब आइतबार राति उपाधि प्रतिश्पर्धा गर्नेछ।
बुधबार राति बायर्न र लियोनबीच हुने खेलको विजेतासँग पीएसजीले प्रतिश्पर्धा गर्नुपर्नेछ।