नेपाल आइपुग्यो फ्लिपकार्ट
भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्ट स्थानीय कम्पनीसँगको रणनीतिक साझेदारीमार्फत नेपाली बजारमा भित्रिएको छ। दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले १६ अर्ब अमेरिकी डलर तिरेर ८१ प्रतिशत शेयर खरिद गरेको ई-कमर्श कम्पनी फ्लिकार्ट स्थानिय सस्तो डिल डटकमसँग रणनीतिक साझेदारीमा भित्रिएको हो।
तर, दुबै कम्पनीले यसको औपचारिक जानकारी दिएका छैनन्। “केही दिनमा नेपाल र भारत दुबै देशबाट यस्तो रणनीतिक साझेदारी गरिएको बारे संयुक्त विज्ञप्ति जारी गरिनेछ,” कम्पनी सम्वद्ध एक अधिकारीले भने।
सस्तो डिल डटकममार्फत दीर्घकालीन रणनीतिक साझेदारीअन्तर्गत फ्लिपकार्टले नेपालमा बजार विस्तार गरेको हो।
पहिलो चरणमा फ्लिपकार्टले भारतमा उपलब्ध गराउँदै आएका ५ हजार सामग्री सस्तो डिल डटकममा उपलब्ध गराउने छ। बच्चाको सामग्री, विद्युतीय सामाग्री, किताब, फर्निचर आदि क्रमशः थप्दै १ लाख भन्दा बढी सामग्री उपलब्ध गराउने यसको तयारी रहेको छ।
फ्लिपकार्टले भारतमा १ करोडभन्दा बढी विविधताका सामग्री आफ्नो अनलाइन प्लेटफर्ममा उपलब्ध गराउँछ। फ्लिपकार्टसँगको साझेदारीपछि सामानको खरिददारीका लागि भारत जानुपर्ने बाध्यता हट्ने सस्तो डिलसम्वद्ध एक अधिकारीको दाबी छ।
कपडा, सवारी साधनका पाटपूर्जा लगायका सामान पनि उपलब्ध हुने दाबी उनले गरे। “मुख्य कुरा भारतमा पर्ने मूल्यमा नेपाल भित्र्याउँदाको कर रकम मात्र थपेर मूल्य निर्धारण गरिन्छ, जसले गर्दा उपभोक्ताले सस्तोमा सामान खरिद गर्ने अवसर पाउँछन्,” ती अधिकारीले भने।
कम्पनीले भारतबाट मगाउनुपर्ने सामान सामान्यतयाः १ साता र बढीमा २१ दिनभित्र उपभोक्ताको घरमा डेलिभरी गर्ने योजना बनाएको छ। सस्तो डिलले फ्लिपकार्टसँगै यसको सहायक कम्पनी माइन्त्र डटकमसँग पनि साझेदारी गरेको छ। माइन्त्र डटकम फेसनका सामग्री उपलब्ध गराउँछ।
फ्लिपकार्टमा अधिकांश शेयर हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टको रहेकाले साझेदारीको अनुमोदन वालमार्टमार्फत गरिएको एक अधिकारीले बताए। सन् २०११ मा अमुन थापासहितका युवाले रु. ५० हजार लगानीमा सस्तो डिल डटकम शुरु गरेका थिए।
अहिले यो अनलाइन सपिङको प्लेटफर्ममा लाखौं उपभोक्ता जोडिएको कम्पनीले दाबी गर्दै आएको छ। भारतको बैंगलोरमा रहेको फ्लिपकार्ट डटकम सचिन वंशल र विन्नी वंशलले सन् २००७ मा शुरु गरेको ई-कमर्श कम्पनी हो।
शुरुमा पुस्तक विक्रीमार्फत थालेको यस कम्पनीले पछि अनलाइनमार्फत विद्युतीय, फेसन र घरायसी सामाग्री तथा अन्य उपभोग्य सामग्री विक्री गर्दै आएको छ।
दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले फ्लिकार्टको ८१ प्रतिशत शेयर १६ अर्ब अमेरिकी डलर तिरेर खरिद गरेको थियो। फ्लिकार्टमा माइक्रोसफ्टको पनि आंशिक लगानी रहेको छ।
यो कम्पनीको मूल्य दुई वर्षअघि नै २० अर्ब अमेरिकी डलर (अहिलेको मूल्यमा रु. २४ खर्ब) निर्धारण गरिएको थियो।
यसभन्दा पहिले, दुई वर्षअघि २०७५ सालमा चिनियाँ ई-कमर्श कम्पनी अलिबाबा ग्रुपले नेपालसहितका देशमा अनलाइन कारोबार गरिरहेको दराज डटकमको स्वामित्व खरिद गरेर नेपाली बजारमा प्रवेश गरेको थियो।
दराजले खासगरी चिनियाँ बजारमा उपलब्ध सामाग्रीलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।