कोरोना अपडेट: घरमै छन् २८८७ जना कोरोनाका सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २८८७ कोरोना संक्रमित घरमै आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २ भदौसम्म घरमै आइसोलेसनमा बस्नेहरूको यो संख्या सातै प्रदेशको हो।
मन्त्रालयका अनुसार होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या सबैभन्दा धेरै प्रदेश-२ मा २३४९ छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८ जना मात्र छन्।
त्यसै गरी प्रदेश–१ मा १९७ जना, प्रदेश–५ मा १७० जना, बागमति प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना र सुदुरपश्चिम प्रदेशमा २५ जना होम आइसोलेनसनमा रहेका छन्।
यस्तै संस्थागत रुपमा आइसोलेसनमा रहेकाहरुको संख्या ७६७६ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै बागमति प्रदेशमा २५१४ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २०८ जना छन्।
हालसम्म मुलुकभर कोरोना संक्रमितहरूको संख्या २८२५७ पुगेको छ। यीमध्ये १७५८० जना व्यक्ति निको भइसकेका छन्, भने सक्रिय संक्रमितको संख्या १०५६३ छ।
यस्तै, कोरोना संक्रमणका कारण ११४ जनाको मृत्यु भइसकेको छ।