यसकारण अव्यावहारिक छ कोरोना संक्रमितलाई सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउने सरकारको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताललाई मात्र कोरोना विशेष अस्पताल तोकेको छ । बाँकी अस्पतालहरूमा अन्य विभिन्न रोगका बिरामीको सँगसँगै कोरोना संक्रमितको पनि उपचार गर्नुपर्ने बाध्यता छ।
कोरोना विशेष अस्पताल भरिन थालेपछि ३० साउनमा स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूलाई कोरोना संक्रमितको उपचार गर्न न्यूनतम २० प्रतिशत बेड छुट्याउन भन्यो।
स्वास्थ्य मन्त्रालयले सुचना जारी गर्दै भनेको थियो, “संक्रमितलाई कोभिड अस्पतालहरूमा राख्न समस्या भएको हुँदा कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना पोजिटिभ रिपोर्ट आएपछि त्यसको व्यवस्थापन हब अस्पतालहरूको संंयोजनमा सोहि अस्पतालमा नै गर्न अनुरोध छ।”
तर विज्ञहरू अस्पतालमा सुरक्षाका मापदण्ड पालना नगरी कोरोना संक्रमित बिरामीको पनि उपचार गर्दा संक्रमण स्वास्थ्यकर्मी र अन्य बिरामीहरूमा फैलनसक्ने जोखिम रहेको बताइरहेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई सँगै राखेर उपचार गर्दा समस्या निम्तिएको बताउँछन्।
उनी अस्पतालमा उपचाररत दीर्घ रोगका बिरामीलाई विशेष हेरचाह र सुरक्षा अपनाएर राख्नुपर्ने बताउँछन् । “यसो नगरे उनीहरूसँगै अस्पतालका कर्मचारीमा पनि कोरोना सर्ने डर हुन्छ,” उनी भन्छन्।
जनस्वास्थ्यविद् प्रा. डा. सुजनबाबु मरहठ्ठा कोरोना संक्रमितको उपचार गर्न छुट्टै ठूला अस्पताल बनाउन आवश्यक भएको बताउँछन्।
धेरै बिरामीहरूको उपचार हुने महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित र अन्य बिरामीको उपचार भइरहेको छ।
संक्रमित र संक्रमण नभएका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा जोखिम निम्तिएको त्यहाँ कार्यरत चिकित्सकहरू बताउँछन्।
शिक्षण अस्पतालका चिकित्सक, नर्ससहित झण्डै ३० जना कर्मचारी कोरोना संक्रमित भएका छन्।
अस्पतालका चिकित्सक डा. पंकजकुमार दास पछिल्ला दिनहरूमा स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेपछि अस्पतालमा जनशक्ति निकै कम भएको बताउँछन्।
“अहिलेको अवस्था हेर्दा कोरोना संक्रमित व्यक्तिबाट अन्य बिरामी तथा अस्पतालका कर्मचारीमा कोरोना सरेको देखिएको छ,” डा. दास भन्छन्, “तर बिरामी कोरोना संक्रमित हो होइन भनेर सजिलै छुट्याउन सक्ने अवस्था पनि छैन।”
उनी कोरोना संक्रमित र अन्य बिरामीको उपचार व्यवस्थापनमा सरकारबाट खासै सहयोग नभएको गुनासो गर्छन् । अस्पतालमा कोरोनाको संक्रमण कम गर्न स्वास्थ्य मन्त्रालयले छुट्टै कोभिड अस्पताल बनाउन ध्यान दिनुपर्ने उनको सुझाव छ।
कैलालीको धनगढीस्थित नवजीवन अस्पतालका निर्देशक डा. विदुरमणि ढकाल स्वास्थ्य मन्त्रालयको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न २० प्रतिशत बेड छुट्याउने निर्णय अव्यवहारिक भएको बताउँछन्।
“सबै खालका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा कोरोना नभएका व्यक्ति र अस्पतालका कर्मचारीलाई पनि संक्रमण फैलने डर हुन्छ,” डा. ढकाल भन्छन्, “बरु सरकारले पाँच सय बेडको कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनायो भने हामी जनशक्ति उपलब्ध गराउने थियौं।”
वीर अस्पतालको क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य कोरोना संक्रमित बिरामी र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्ने निर्णय व्यवहारिक नभएको बताउँछन्।
डा. आचार्य कोरोना संक्रमितको उपचार गर्न अस्पतालमा छुट्टै भवनको व्यवस्था भए राम्रो हुने बताउँछन् । “हामीले जोखिमका बीच अस्पतालमा भर्ना हुन आउने क्यान्सरका बिरामीलाई ज्वरोको लक्षण देखिए कोरोना परीक्षण गर्दै उपचार गरिरहेका छौं,” उनी भन्छन्।
कोरोनाका कारण वीर अस्पतालका तीन चिकित्सक र एक जना नर्स संक्रमित भइसकेका छन् । अस्पतालको बहिरंग कक्षमा भर्ना हुन आएका बिरामीबाट उनीहरूमा कोरोना संक्रमण भएको हो।
चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ११ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । अस्पतालको संक्रमण देखिएको वार्डमा कन्ट्याक्ट ट्रेसिङ र निर्मलीकरणको काम भइरहेको छ।
अस्पतालमै संक्रमण देखिन थालेपछि अहिले त्यहाँको शल्यक्रिया सेवा बन्द छ । तर अस्पतालको आपत्कालिन र बहिरंग सेवा भने सञ्चालनमा छन्।
अस्पतालका कन्सल्ट्यान्ट तथा सर्जिकल अंकोलोजी विभाग प्रमुख डा. अनिलविक्रम कार्की पर्याप्त र आवश्यक सुरक्षा सामग्रीविना स्वास्थ्यकर्मीहरू मास्कको भरमा उपचारमा खटिएको बताउँछन्।
डा. कार्की पीपीई जस्ता आवश्यक सुरक्षा सामग्री नहुने र संक्रमित तथा अन्य बिरामीलाई एउटै अस्पताल भवन तथा तलामा राखेर उपचार गर्नुपरेका कारण स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिएको बताउँछन्।
“कोरोना विशेष अस्पताल भन्दा अन्य अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीलाई बढी कोरोना संक्रमण देखिएको छ,” उनी भन्छन्, “त्यसैले मुख्य ठूला अस्पतालमा कोरोना संक्रमितको पनि उपचार हुन थालेपछि अन्य रोगका बिरामी उपचारका लागि जान डराउन थालेका छन्।”