निषेधाज्ञा जारी गर्नेदेखि कर्फ्यू लगाउनेसम्मको अधिकार सिडिओलाई
सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कर्फ्यू लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यू लगाउने सम्मको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता एवं अर्थ-सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उनले बताए।
सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ।