महिला फूटबल खेलाडीलाई एन्फाले रु एक लाख दिने
पाँचौ साफ फूटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले रु एक लाख नगद पुरस्कार दिने भएको छ ।
एन्फाको बिराटनगरमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको प्रवक्ता किरण राईले बताए ।
साधारणसभापछि आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फूटबल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फूटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने बताए ।
साफ महिला फूटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट रु एक करोड २० लाख र प्रदेश सरकारबाट रु ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उनले प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फूटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फूटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी दिए ।
विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारीसबैको काँधमा आएको उनको भनाइ थियो ।
साधारणसभाले खोटाङ, नवलपुर र मनाङ जिल्लाका फूटबल सङ्घलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
एन्फाले आर्थिक वर्ष २०७५/७६ का लागि रु २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको छ ।