यूरोपेली युनियनसहित बेल्जियम तथा जर्मनी र पाकिस्तानका लागि तीन जना राजदूत सिफारिश
सरकारले यूरोपेली युनियन र बेल्जियम तथा पाकिस्तान र जर्मनीको राजदूतका लागि तीन जनालाई सिफारिश गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यूरोपियन युनियन (ईयू) हेर्ने गरी बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिश गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका अर्थ-सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले उनीहरू तीनै जना परराष्ट्र मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारी भएको बताए।
साथै बैठकले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्व सचिव महेश दाहाल र बोर्डको सदस्यमा पूर्व सहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरेको छ।
यस्तै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई नियुक्त गरेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै समाज कल्याण परिषद्को रिक्त कोषाध्यक्ष पदमा लोकमान सुवेदीलाई मनोनयन गरेको छ।
विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरीद गर्नका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।
यस्तै सासेक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर २०० मिलियन (करीब २३ अर्ब ८८ करोड) बराबरको सहुलियतपूर्ण ऋण र नर्वे सरकारको तर्फबाट पप्त हुने अमेरिकी डलर ३५ मिलियन (करीब ४ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।