कोरोना संक्रमण बढेपछि रुपन्देहीमा भोलिदेखि निषेधाज्ञा जारी
कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि रुपन्देहीमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार २–७ भदौसम्म जिल्लाभर अत्यवाश्यक सेवा बाहेक अन्य गतिविधिमा निषेध गरिएको उल्लेख छ।
संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न रोक लगाइएको र कसैले गतिविधि गरे नियमअनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। खुल्ला स्थानमा मानिस भेला हुन, भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ।
त्यसैगरी दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यवापार व्यवसाय अन्तर्गत स्वास्थ्य मापदण्ड विपरित कार्य गर्न पनि रोक लगाइएको छ।
साथै बेलहिया नाका बाहेक अन्य सीमानाकाबाट मानिसको आवतजावतलाई समेत रोक लगाइएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गर्नुअघि नै यहाँका स्थानीय पालिकाले आफ्नो क्षेत्रभित्र सबै प्रकारका गतिविधिमा रोक लगाएका छन्। तिलोत्तमा नगरपालिकाले भोलिदेखि मानिसलाई सडकमा निस्कन समेत रोक लगाउने गरी सूचना जारी गरेको छ।