पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ जना पुगेको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष र तनहुँकी एक महिला रहेकी छिन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा पहिलोपटक एकैदिन १००० भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार मंगलबार मात्रै मुलुकमा १०१६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका छन्।
उनका अनुसार निको भएर घर फर्किनेको संख्या ८५ जना मात्रै छन् सक्रिय संक्रमितको संख्या १०५५३ रहेको छ।