सर्वोच्च अदालतका तीन जनामा कोरोना संक्रमण
सर्वोच्च अदालतका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्यायाधीशका सहयोगी र एक जना सवारी चालकलाई संक्रमण भएकोमा आज अर्का एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
सर्वोच्च अदालतका अनुसार सेवाग्राहीसँग सम्पर्कमा रहने १८० जना कर्मचारीको स्वाबको नमूना परीक्षण गरिएकोमा आज तीमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जना निको भइसकेका छन्।
सर्वोच्च अदालतका ती सवारी चालक संक्रमणमुक्त भएपछि ३० साउनमा अस्पतालबाट डिस्चार्ज भएका थिए। काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि सर्वोच्च अदालतले सीमित प्रकृतिका मुद्दा मात्रै सुनुवाइ गर्दै आएको छ।
पछिल्लोसमय दैनिक दुईवटा मात्रै इजलास बस्न थालेका छन्। सर्वोच्च अदालतका दुई जना न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालले आफूहरूको सम्पर्कमा रहेका व्यक्तिमा संक्रमण देखिएको भन्दै सेल्फ आइसोलेसनमा बसेका छन्।