‘मेस्सीले छाडे भने बार्सिलोनाको नाम नै फेर्नुपर्छ’
स्पेनिस फूटबल महारथी बार्सिलोना सिजनभर नै उपाधिविहीन बन्दै यूरोपेली च्याम्पियन्स लिगबाट लज्जास्पद हारसहित बाहिरिएपछि अहिले भइरहेको चर्चा एउटै छ– के मेस्सीले अब बार्सिलोना छाड्छन् ?
चर्चा त के पनि भइरहेको छ भने मेस्सीले अबको एक वर्षभित्रै आफूले बार्सिलोना छाड्ने जानकारी क्लबका पदाधिकारीहरूलाई दिइसकेका छन्।
आफ्नो व्यावसायिक फूटबल करिअरको सम्पूर्ण समय बार्सिलोनामै बिताएका अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोना छाड्लान् या नछाड्लान्, तर उनीपछिको बार्सिलोनाको भविष्य के हुने भन्ने बहस शुरु भइसकेको छ। ३३ वर्षीय मेस्सी आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जानसक्ने चर्चा पनि छ।
“यदि मेस्सीले क्लब छाडे भने बार्सिलोनाको नाम नै परिवर्तन गर्नुपर्छ”, बार्सिलोनाका पूर्वखेलाडी सामुएल इटोले भनेका छन्। मेस्सीसँगै कुनै बेला बार्सिलोनामा खेलेका इटोले मेस्सीलाई आफूले आफ्नो छोरालाई जस्तै माया गरेको बताए।
टीवाइसीस्पोर्टस् डटकमसँग कुरा गर्दै इटोले भनेका छन्, “आज बार्सिलोना भनेके मेस्सी हो। मलाई लाग्छ, यदि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरे भने हामीले क्लबको नाम बदल्नुपर्छ।”
बार्सिलोना यूरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलअन्तरले पराजित भएको थियो। करीब ७० वर्षको सबभन्दा खराब नतिजा आत्मसात गरेपछि मेस्सीले बार्सिलोना छाड्ने अड्कलबाजी तीब्र बनेको छ। यो नतिजापछि बार्सिलोनाले प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गरिसकेको छ।