कार्यवाहक अध्यक्ष तोक्न नियमावली संशोधन गरिएको भन्दै प्रेस काउन्सिलद्वारा सर्वोच्चमा रिट
सरकारले कार्यवाहक अध्यक्ष तोक्नकै लागि नियमावली संशोधन गरेको भन्दै प्रेस काउन्सिल नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
यसअघि काउन्सिल नियमावली र कार्यविधि अनुसार काउन्सिलका बहुमत सदस्यहरूले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था गरेकोमा २६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले कार्यवाहक अध्यक्ष तोक्ने उद्देश्यले नियमावली संशोधन गरेपछि रिट दायर गरेको काउन्सिलले जनाएको छ।
काउन्सिलका तर्फबाट अधिवक्ता सुरेन्द्र मल्लले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ।
सरकारले प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली संशोधन गर्दै नियम ३ मा (क) थप गरेको थियो। जसमा भनिएको छ, “अध्यक्ष पद रिक्त भएमा वा कुनै कारणले अध्यक्षले काउन्सिलको कामकाज गर्न नसक्ने वा नपाउने अवस्था भएमा काउन्सिलको कुनै सदस्यलाई नेपाल सरकारले बढीमा एक वर्षसम्मका लागि कार्यवाहक अध्यक्ष भई कामकाज गर्न तोक्न सक्नेछ।”
तर यो संशोधन गर्ने मन्त्रिपरिषदको निर्णयले प्रेस काउन्सिलको स्वायत्तता र स्वतन्त्रतामा प्रतिकूल असर पर्ने भएको निर्णय ३० साउनमा बसेको काउन्सिलको बैठकले सो संशोधन विरुद्ध न्यायिक उपचारको बाटो खोज्ने निर्णय गरेको थियो।
सो निर्णय बमोजिम हिजो दायर भएको रिटको भोलि (३ भदौ) का लागि पेशी तोकिएको छ। रिटमा भनिएको छ, 'कोभिडका कारण यस सर्वोच्च अदालतले प्रवाह गर्ने संकुचन गरे पनि प्रस्तुत विषय राज्यको चौथो अंग प्रेसको स्वतन्त्रता र निष्पक्षता कायम गर्ने नियमनकारी निकायको स्वायत्तता र स्वतन्त्रतासँग सरोकार राख्ने विषय भएकाले गम्भीरताको हिसाबले, तत्काल सुनुवाइ गरिदिन निवेदन गर्दछु।'
कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफूलाई बहुमत सदस्यले कार्यवाहक अध्यक्ष तोकेको भन्दै कार्यकाल अब ४० दिन मात्रै बाँकी रहँदा व्यक्तिको मात्रै कुरा नभई स्वायत्त निकायलाई सरकारले आफू अनुकूल चलाउन खोजेकाले रिट हाल्ने निर्णय गरेको बताए।
सरकारले तीन दिन अघि पोखराकी पत्रकार दुर्गा भण्डारीलाई सदस्य नियुक्ति गरी हिजो बसेको मन्त्रिपरिषदको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।
यसअघि सरकारले काउन्सिलमा अध्यक्षमा नियुक्त गरेका भवानीप्रसाद बरालको योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन विचाराधीन छ, त्यसयता काउन्सिलमा श्रेष्ठ कार्यवाहक अध्यक्ष रहँदै आएका थिए।