ब्लड ब्याङ्कले रगत लिन नमान्दा कोरोना विरुद्धको ‘प्लाज्मा थेरापी’ उपचार प्रभावित
कोरोना संक्रमणमुक्त व्यक्तिको रगतमा प्लाज्मा निकालेर संक्रमितको उपचार गरिने प्लाज्मा थेरापी विधि उपचारमा नेपाल जनस्वास्थ्य प्रयोगशालाका अनेक शर्त बाधक बनिरहेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड–१९ बाट निको भइसकेका व्यक्तिको रगत लिन ब्लड ब्याङ्कहरूलाई अनुमति नदिएकै कारण उपत्यकाबाहिर प्लाज्मा थेरापी विधिबाट गरिने उपचार अवरुद्ध बनेको छ।
सेती प्रादेशिक अस्पतालमार्फत कोरोना संक्रमितको उपचारमा खटिरहेका एक चिकित्सकले हिमालखबरसँग कुरा गर्दै कोरोना संक्रमणमुक्त १६ जनाले स्थानीय ब्लड ब्याङ्कमार्फत रक्तदान गर्न चाहे पनि प्रयोगशालाले अनुमति नदिएको बताउँछन्।
“प्लाज्मा नपाएका कोरोनाका सिकिस्त बिरामीहरू बेडमा छट्पटिएका छन्,” ती चिकित्सक भन्छन्, “तर ब्लड ब्याङ्कले प्रयोगशालाले अनुमति नदिएको भन्दै निको भएका दाताबाट ब्लड लिन मानेको छैन।”
संक्रमणमुक्त एक व्यक्ति २५ साउनमा रक्तदान गर्न धनगढीस्थित रेडक्रस कार्यालय पुगेको तर कार्यालयले एक पटक आरडीटी पोजेटिभ र दुईपटक पीसीआर नेगेटिभ रिपोर्ट आएपछि मात्र रगत लिइने बताएको थियो।
संक्रमितमुक्त व्यक्तिको रगतबाट प्लाज्मा निकालेर गरिने उपचार विधिलाई प्लाज्मा थेरापी भनिन्छ । रगतबाट प्लाज्मा निकाल्ने काम पनि ब्लड ब्याङ्कहरूले नै गर्छन्।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंह पनि ब्लड ब्याङ्कलाई प्लाज्मा निकाल्ने लिखित अनुमति नदिएका कारण उपचार अवरुद्ध बनेको बताउँछन्।
“हामीले प्लाज्माको लागि दाता खोजिसक्यौं,” डा. सिंह भन्छन्, “तर ब्लड ब्याङ्कले लिखित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति नदिएको बतायो।” उनका अनुसार पर्सामा प्लाज्मा दान गर्न ३०० भन्दा बढी कोरोनाभाइरसमुक्त व्यक्ति तयार छन्।
१ भदौमा प्लाज्मा थेरापीबाट गरिने उपचार विधिबारे स्वास्थ्य अनुसन्धान परिषद र जनस्वास्थ्य प्रयोगशालाले विभिन्न १२ अस्पतालका चिकित्सकसहितको वेबिनार आयोजना गरेको थियो।
वेबिनारमा धनगढी र वीरगञ्जका चिकित्सकले बिरामी र दाता तयार हुँदा पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नपाएको भन्दै गुनासो गरेका थिए।
वेबिनारमा जनस्वास्थ्य प्रयोगशालाकी रेखा मानन्धरले प्लाज्मा दिने व्यक्तिको दुई पटकसम्म पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, र्यापिड डायग्नोष्टिक टेष्ट विधिबाट पनि परीक्षण गरेको हुनुपर्ने दोहोर्याएकी थिइन्।
चिकित्सकहरूले भने उक्त प्रोटोकल व्यावहारिक नभएकोे बताएका छन्। प्रोटोकल व्यावहारिक बनाउन प्रयोगशाला र परिषद्का बीच समन्वय नभएका कारण प्लाज्मा थेरापीबाट गरिने उपचार प्रभावित बनेको उनीहरूको तर्क छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली भने जनस्वास्थ्य प्रयोगशालासँग प्लाज्मा थेरापी विधिबारे पटकपटक छलफल भएको बताउँछन्।
“हाम्रोतर्फबाट होइन, मन्त्रालयले बनाएको प्लाज्मा थेरापीसम्बन्धी निर्देशिकाका कारण प्रयोगशालालाई कठिनाइ भएको देखिएको छ,” उनी भन्छन्, “छिट्टै समाधान खोज्नेछौं।”
नेपालमा २२ साउनमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका ६० वर्षीय पुरुष कोभिड–१९ संक्रमणबाट मुक्त भएका थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान प्रयोजनका लागि त्रिवि शिक्षण अस्पतालसहित मुलुकका १२ वटा अस्पतालहरूमा प्लाज्मा थेरापीबाट उपचार प्रक्रिया थालेको हो। यो विधिबाट लाग्ने उपचार खर्च परिषद्ले नै बेहार्ने व्यवस्था गरिएको छ।
परिषद्ले यो विधिबाट प्रत्येक अस्पतालमा दुई–दुई जना विशेषज्ञ चिकित्सक छुट्याएको छ। १८ वर्षभन्दा माथिका कोरोनाका सिकिस्त बिरामीलाई मात्र यो विधिबाट उपचार गर्न मिल्ने परिषद्को प्रोटोकलमा उल्लेख छ।