प्रधानमन्त्रीलाई गगन थापाको पत्र– ‘दुई हप्ता स्वास्थ्य आपतकाल घोषणा गरेर आवागमन पूर्णरुपमा बन्द गर्नुस्’
नेपाली कांग्रेसका नेता गगन थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ‘ध्यानाकर्षण पत्र’ सार्वजनिक गर्दै कोरोना संक्रमणमा सरकारको तयारी नपुगेको जनाएका छन्। उनले कोरोना संक्रमण नियन्त्रणको तयारीका लागि प्रशस्त समय हुँदा पनि सदुपयोग गर्न नसकेको उल्लेख गरेका छन्।
अहिले आपतकालीन अवस्था भएको भन्दै उनले सरकारका विभिन्न निकायले लहडमा गर्ने निर्णय रोक्नुपर्ने जनाएका छन्। उनले काठमाडौँ लगायत ‘हटस्पट’ मा दुई हप्ताका लागि जनस्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने जनाएका छन्। त्यस्तै आवागमन पूर्णरुपमा रोक्न पनि माग गरेका छन्।
सरकारले केही दिनअघि परीक्षणको मापदण्ड खुकुलो बनाउनु सकारात्मक भए पनि पर्याप्त नभएको उनले जनाएका छन्। दैनिक १५ हजार पीसीआर परीक्षण गर्न सक्ने सरकारको क्षमतालाई उपयोग गर्नुपर्ने थापाले उल्लेख गरेका छन्।
स्थानीय सरकारहरुलाई व्यवस्थापनको भारी बोकाएर संघीय सरकारले संख्या मात्र गनेर बसेको आरोप लगाएका छन्। घोषणा पत्र भनिए पनि उनले मुख्यतः सरकारको कामको आलोचना गरेका छन्। कांग्रेसले दिएका सुझावको सूची राखेर सरकारले गम्भीरतापूर्वक नलिएको उनले उल्लेख गरेका छन्।
उनले ट्विटरमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, “सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनि तपाईँको अहंकार, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थाल्यो।अब त तपाईंमा केही संवेदनशीलता पलाउँछ कि भन्ने आशाका साथ पुनः यो पत्र मार्फत ध्यानाकर्षण गराएको छु।”
कन्ट्याक्ट ट्रेसिङमा सरकार असफल भएको थापाको ठहर छ। त्यस्तै अस्पतालहरुले थेग्न नसक्ने अवस्था आउन थालेको पनि उनले जनाएका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गरेर उनले कोरोना नियन्त्रणका लागि सात मुख्य बुँदामा विभिन्न सुझाव दिएका छन्।