कोरोना सङ्क्रमणबाट पोखरामा दुई जनाको मृत्यु
पोखरामा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन्।
पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे मृत्यु भएको हो। उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका थिए।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत ३२ साउनमा उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए। कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखिएको थियो।
ती पुुरुषलाई मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइएको छ। हालसम्म पश्चिमाञ्चल अस्पतालमा मात्र चार सङ्क्रमितको मृत्यु भएको छ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति साढे ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याका कारण उनी ३१ साउनमा अस्पताल भर्ना भएकी थिइन्।
उनको सोमबार बिहान पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकोमा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो। त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएको थियो। पोखारामा उनलाई सघन उपचार कक्षा (आईसीयू) मा राखेर उपचार गरिँदै थियो।
यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।