पहिरोले थुनेको म्याग्दीको ठाडो खोला खुल्यो
पहिरोले हिजो साँझदेखि थुनेको म्याग्दीको मंगला गाउँपालिका–५ हिलवाङस्थित ठाडो खोला खुलेको छ। खोला खुलेपछि बाढीको जोखिम टरेको छ।
सोमबार साँझ साढे ४ बजे अर्मनको पाखु सामुदायिक वनबाट झरेको पहिरोले खोला थुनेको थियो। करीब पाँच घन्टापछि बेलुका ९ बजेतिर खोला खुलेको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए।
खोला खुलेपछि केही वेर निकै ठूलो बाढी बगेको उनले बताए। अध्यक्ष रोकाले भने, “अहिले अवस्था सामान्य रहेको वडाध्यक्षले मलाई जानकारी दिनुभएको छ। अब तत्काललाई जोखिम टरेको छ।” खोला थुनिएपछि मंगला–५ का वडाध्यक्ष भूपेन्द्रबहादुर क्षेत्र निरीक्षणका लागि गएका थिए।
गाउँपालिका अध्यक्ष रोकाका अनुसार पानीले लेदो बगाउँदै लगेपछि पहिरो झरेको ठाउँको भित्रबाटै खोला बगेको थियो। पानीले माटो कटान गरेर बाटो बनाएपछि जोखिम टरेको हो।
तर, उक्त ठाउँमा अझै पहिरो बगिरहेको वडाध्यक्षलाई उधृत गर्दै उनले बताएका छन्। खोला थुनिएको ठाउँभन्दा तल करीब १५ घर भएकाले तत्काललाई सतर्कता अपनाउन आग्रह गरिएको पनि उनले बताए