चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण
चितवनको राप्ती नगरपालिका, भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ सशस्त्र प्रहरीमा कोरोनाभाइरस सङ्क्रमण भएको छ।
उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए।
६० जनाको नमूना सङ्कलन गरी पठाउँदा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए। संक्रमितमध्ये नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी छ।
बाहिनीका कुल ५० सङ्क्रमितमध्ये ४६ जना चितवनका हुन्। बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी छन्। यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्छ।
दुई दिनअघि पूर्वी चितवनका मेयरहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो। राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताइन्। सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिइन्।