पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो तटीय क्षेत्र जोखिममा
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ। खोला थुनिएर पोखरी बन्दा तल्लो तटीय क्षेत्रमा पर्ने खानिवास, कुर्सिला र खारापानी क्षेत्र जोखिममा परेका छन्।
अर्मनको पाखु सामुदायिक वनबबाट खसेको पहिरोले सोमबार दिउँसो ४ः३० बजे ठाडो खोला थुनिएकाले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए। उनका अनुसार त्यहाँ ठूलो पोखरी बनेको छ।
“माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ”, वडाअध्यक्ष खत्रीले भने।
पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली त्यता गएको छ। वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले बाढीको जोखिम अत्यधिक भएको जनाएको छ। बाबियाचौरबाट प्रहरीको टोलीसमेत पहिरोस्थल प्रस्थान गरेको छ।
खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दा त्रसित भएका छन्। साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने जनाइएको छ।