बन्दाबन्दीबारे बिहीबार निर्णय हुने, सीसीएमसीले प्रस्ताव तयार पार्ने
लगातार संक्रमण बढिरहेपछि बन्दाबन्दीबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। आज बसेको मन्त्रिपरिषदको नियमित बैठकमा बन्दाबन्दीबारे लामो छलफल गरेको एक मन्त्रीले बताए।
उनका अनुसार, बन्दीबन्दीबारे बिहीबारको मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। “संक्रमण बढिरहेको छ। रोकथाममा कमजोरी देखिएको छ। बिहीबार यसबारे निर्णय लिइदैछ”, ती मन्त्रीले भने।
फरक–फरक मत आएकाले यसबारे गृहकार्य गरेर अर्को बैठकमा निर्णय लिनेगरी मन्त्रिपरिषद् सकिएको छ। बन्दाबन्दीबारे सीसीएमसीले प्रस्ताव तयार पार्ने भएको छ।
१२० दिन लामो बन्दाबन्दी गएको ७ साउनदेखि अन्त्य भएको थियो। तर, काठमाडौं, वीरगञ्ज र विराटनगर महानगरपालिकामा संक्रमण लगातार बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिनको नियमित पत्रकार सम्मेलनमा अवस्था भयावह बन्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।
सरकारले भने अवस्था हेरेर स्थानीय सरकारलाई निर्णय लिन निर्देशन दिएको छ। त्यसैअनुसार, राजधानी उपत्यका सहितका स्थानीय सरकार र जिल्ला प्रशासनले फरक–फरक निर्णय लिदै आएको छ। राजधानी उपत्यका सहित दुई सय बढी संक्रमित रहेको जिल्लामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान, अन्तर जिल्ला यातायात, सभा तथा भेला लगायत भने अझै बन्देज नै छ।