प्रसिद्ध शास्त्रीय गायक पंडित जसराजको निधन
प्रख्यात शास्त्रीय गायक पंडित जसराजको ह्रदयाघातका कारण सोमबार बिहान निधन भएको छ ।
९० वर्षीय पंडित जसराजको अमेरिकाको न्यूजर्सीस्थित निवासमा बिहान ५ः१५ मा निधन भएको पारिवारिक स्रोतले समाचार संस्थाहरुलाई जानकारी गराएका छन्।
पंडित जसराजकी छोरी दुर्गा जसराजका अनुसार पंडितले अप्रिलमा फेसबुक लाइभमार्फत भारतको बनारसस्थित हनुमान मन्दिरमा आफ्नो अन्तिम प्रस्तुति दिएका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत पंडित जसराजको प्रस्तुतिका हिसाबले मात्र असाधारण नभइ गुरुका रुपमा पनि उनले अलग पहिचान बनाएको भन्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
मेवाती घरानासँग सम्बन्धित पंडित जसराजको शास्त्रीय र अर्धशास्त्रीय संगीतमा दख्खल थियो। परम्परागत खयाल गायनमा उनले ठूमरीलगायतका संगीतका धारलाई समावेश गर्ने साहस पनि गरेका थिए।
थुप्रै दुर्लभ रागलाई प्रचलनमा ल्याउने श्रेय पनि उनलाई जान्छ । शास्त्रीय संगीतलाई हवेली संगीतमा भित्र्याएर लोकप्रिय बनाउन योगदान पुर्याएका उनलाई कतिपयले त्यसैका लागि आलोचना समेत गरेका थिए।
पंडित जसराजले मूर्छनाको परम्परागत शैलीको प्रयोगमा आधारित एक उपन्याससमेत लेखेका छन्–जसरंगी। उपन्यासमा एकै समयमा एक महिला र पुरुषले फरक फरक रागमा जुगलबन्दी प्रस्तुत गर्छन्।
–एजेन्सीको सहयोगमा