विवादमा संघीय संसदको नयाँ लोगो, नक्शा र झण्डा नै फरक
नेपालको अद्यावधिक नक्शा अनुसार संघीय संसद सचिवालयले सांसदहरुका लागि तयार पारेको लोगो विवादमा परेको छ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नक्शा जारी गरेर संविधान संशोधन गरेपछि संसद सचिवालयले सांसदहरूका लागि लोगो तयार गर्न लगाएको थियो।
लोगो हिजो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई हस्तान्तरण गरिएको थियो।
तर आज सामाजिक सञ्जालहरूमा लोगो वास्तविक नक्शा अनुसार नभएको भन्दै आलोचना र व्यंग्य भइरहेको छ। ट्वीटरमा कांग्रेसका नेता धनराज गुरुङले संसद सचिवालयको अपरिपक्व काम भनी टिप्पणी गरेका छन्। कतिपयले लोगोमा भएको नेपालको नक्शा र नेपालको झण्डामाथि पनि प्रश्न गरेका छन्।
कतिपय सांसदहरूले पनि लोगोमाथि प्रश्न उठाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठ पनि नेपालको नक्शा अद्यावधिक गरिएपछि बनाइएको लोगोमा त्यही नक्शा बिगार्न नहुने बताउँछिन्। “नक्शामा थपिएको चुच्चो पनि अर्कै देखिन्छ, झण्डाको स्वरुप पनि मिलेन। म त भन्छु, मुख्य दुईवटा कुरा नै बिग्रिएको लोगो लगाउनुहुँदैन,” उनले भनिन्।
उनले हस्तकला वा नेपाली कालिगडहरुले हातले बनाएको भन्ने सकारात्मक कुरा भए पनि पहिचान नै फरक पार्न नहुने बताइन्।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले पनि असन्तुष्टि जनाइन्। “दिउँसो हामीलाई दिइयो, हामीले राम्रोसँग नहेरी लगायौं, बेलुका हेर्दा अलि फरक नै महसुस भयो,” उनले भनिन्।
संसद सचिवालयमा पनि यो विषयमा अनौपचारिक छलफल भएको छ। सचिवालयका एक अधिकारीले अनौपचारिक छलफल भए पनि पदाधिकारीहरू सभामुख वा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षले प्रतिक्रिया नजनाएको कारण संयुक्त छलफल भएको छैन।
सांसदहरूको लोगोमा दुई हातमध्ये चुरा लगाएको जस्तो महिलाको हात र अर्को पुरुषको जस्तो देखिने हातहो अञ्जुली बनाइएको र त्यसको माथि नेपालको नक्शा छ भने नेपालको नक्शाको बीचमा राष्ट्रिय झण्डा छ।
नेपालको अद्यावधिक नक्शामा निस्किएको चुच्चो यो लोगोमा मोटो खालको देखिन्छ भने झण्डा पनि अलि फरक देखिन्छ। महिलाको हातमा लगाएको जस्तो चुरा पनि कुनैमा दुईवटा चुरा भन्ने देखिन्छ, कुनै लोगोमा जोडिएको छ।
सचिवालयले करीब ३५० वटा लोगो बनाउन लगाएको थियो। संघीय सांसद, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले हातले नै बनाउने निर्णय भए बमोजिम हातले बनाउँदा राम्रोसँग फिनिसिङ नभएकाले यस्तो लागेको हुनसक्ने बताए।
“हातले बनाउन लगाइएकाले अलि अर्कै देखिएको जस्तो लागेको हुनसक्छ। ३५० वटा बनाउँदा फरकफरक व्यक्तिले बनाउँदा पनि एक र अर्कोबीच थोरै फरक हुनसक्छ कि भन्ने छ तर सबै हेरिएको छैन," उनले भने।