शोकले बनायो सफल साइकल व्यवसायी
मेरुदण्डमा चोट लागेपछि रूपेश श्रेष्ठलाई झण्डै झण्डै पक्षघात भएको थियो, उनको व्यवसाय पनि टाट पल्टिनेवाला थियो । स्थिति योभन्दा खराब हुनसक्दैन भन्ने के लागेको थियो, क्यान्सरका कारण उनले श्रीमती नै गुमाउनुपर्यो ।
आज, रूपेश सकारात्मक मानसिकता र दृढताको उपयोग गर्दै आफ्नो सानो साइकल पसललाई उपत्यकाकै श्रेष्ठ मध्येको एक पसलमा रूपान्तरण गर्न सफल भएका छन् । प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्ने उदाहरण बनेका छन् ।
“आफू भीर छेउ पुग्दा मात्र तपाईंले जीवन बारे धेरै कुरा सिक्नुहुँदोरहेछ” रूपेश भन्छन्, “यथास्थितिमा अल्मलिने कि अघि बढ्ने आफ्नै छनोट हुँदोरहेछ ।”
पाँच वर्षअघि मेरुदण्डको तल्लो भागको चोट (प्रोल्याप्स्ड डिस्क) का कारण रूपेश अस्पतालमा भर्ना हुनुपर्यो । त्यसपश्चात् घरमै महीनौं ओछ्यान परे । एकदमै कठिन फिजियोथेरापी र योगले उनलाई पक्षघात हुनबाट बचायो ।
बुवाको सुझाव विपरीत सन् २००० मा उनले एपिक माउन्टेन बाइक पसलको आरम्भ गरे, जुन बेला उनी मात्र २० वर्षका थिए । रूपेश आफ्नो समयभन्दा अघि थिए किनभने त्यतिबेला काठमाडौं माउन्टेन बाइकका लागि तयार भइसकेको थिएन । परिणाम, उनको व्यापारले खासै राम्रो गर्न सकेन ।
त्यसपछि उनको जीवनमा बज्रपात पर्यो, उनकी श्रीमतीलाई क्यान्सर भएको पत्ता लाग्यो र सन् २०१६ मा उनको निधन भयो ।
“मेरो लागि यो एकदमै कठिन समय थियो, तर किरिया बसेको १३ दिन मैले जिन्दगी बारे धेरै सोचविचार गरें । साथीभाइ र परिवारको साथ र सुझावले मलाई अघि बढ्न सहयोग पुर्यायो”, रूपेश सम्झन्छन् ।
अबको उनको योजना माउन्टेन बाइक स्टोरमा आफ्नो भएभरको ऊर्जा लगाउने, बजार बुझ्ने, नयाँ–नयाँ प्रविधिको प्रवद्र्धन गर्ने र उद्यमलाई सफल बनाउन तल्लीन हुने थियो ।
“त्यो बेला मेरा ८० प्रतिशत ग्राहक पश्चिमा विदेशी थिए र २० प्रतिशत नेपाली, अहिले ठ्याक्कै त्यसको उल्टो छ”, उनी भन्छन् ।
उनले भने झैं अहिले धेरै शहरवासीका लागि माउन्टेन बाइक एक खेल बनेको छ । उनीहरू देशको चुनौतीपूर्ण भूबनोटको फाइदा उठाउँदै, दुई पाङ्ग्रेमा सवार भई मनमोहक दृश्य अवलोकन गर्दै साहसिक यात्रा गरिरहेका छन् ।
रूपेश माउन्टेन बाइकको तालिमको लागि सिङ्गापुर गए । माउन्टेन बाइकका प्रवर्तक ग्यारी फिसरद्वारा लिखित पुस्तक ‘द कम्प्लिट बुक अफ माउन्टेन बाइकिङ’ को गहन अध्ययन पनि गरे ।
नेपाल फर्केपछि रूपेशले ललितपुरको झम्सिखेलमा आफ्नो पसल पुनः सञ्चालन गरे । आफ्ना कर्मचारीलाई मेकानिक तालिम दिए । “यो व्यवसायप्रति मेरो लगाव बढ्दै गयो । बाइक बेच्न मात्र होइन कि अझ धेरै नेपालीलाई प्रकृतिमा यात्रा गर्न रुचि जगाउनु मेरो उद्देश्य बन्यो ।”
त्यसका लागि रूपेशले काठमाडौं उपत्यका आसपासका माउन्टेन बाइकिङ गर्न मिल्ने पदमार्गको नक्शाङ्कन गर्न, रुचि भएकालाई बाइकिङ सीप र कलाको विकास गराउन तालिम दिन थाले ।
काठमाडौं बाहिर उनको भगिनी संस्था एपिक राइड्स नेपालले पथप्रदर्शक सहितको यात्रा गराउन, साइकल चलाउनेहरूलाई एकदिने यात्राका लागि हेटौंडा र चन्द्रागिरिको टुप्पोमा लैजान थाल्यो । विस्तारै लामो र अप्ठ्यारो १० दिने कठिन मुस्ताङ र अन्नपूर्ण यात्राको पनि प्रबन्ध मिलायो ।
हुँदाहुँदा यो कम्पनीले २१ दिने ल्हासा यात्रा पनि संचालन गर्यो, जसमा एकहजार किलोमिटरको साइकल यात्रा गर्नुपर्छ ।
“शुरूदेखि नै हामीले नेपाली लक्षित व्यवसायमा प्राथमिकता दियौं, त्यसैले हामीलाई टिकाउन सहयोग पुर्यायो”, रूपेश भन्छन् । आज उनको कम्पनी वार्षिक रु.२ करोड बराबरको कारोबार गरिरहेको छ ।
व्यवसायसँगै रूपेश विभिन्न परोपकार संस्थामा पनि आवद्ध छन्, श्रीमतीको सम्झनामा स्तन क्यान्सर दिवसको दिन बाइक र्यालीमार्फत यस विरुद्ध जागरण अभियान संचालन गर्छन् । त्यसबाट उठेको रकम क्यान्सरको उपचार गर्न नसक्नेहरूमा खर्च गर्छन् । कीर्तिपुरमा रहेको एक एचआईभी र एड्स उपचार केन्द्रलाई पनि उनले सहयोग गरिरहेका छन् ।
सफलताका लागि रूपेशको सुझाव छ– साहस बटुल्नु, धैर्य र लगाव तथा असफलताबाट सिक्नु । भन्छन्, “आफूलाई एकदमै लगाव भएको क्षेत्रमा मात्र व्यवसाय गर्नु । हतार नगर्नु, हरेस नखानु।”