जीपीएको विवरण विनै एसईईको नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। शिक्षा विकास तथा समन्वय इकाईहरूबाट प्रमाणित भई आएको विद्यार्थीहरूको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस वर्ष सार्वजनिक गरिएको नतिजामा जीपीएको विवरण खुलाइएको छैन् भने पुनर्योग तथा ग्रेड वृद्धि परीक्षा पनि हुने छैन।
यस वर्ष कुल ४ लाख ८२ हजार ९८६ विद्यार्थीले आवेदन भरेका थिए। त्यसमध्ये विद्यालयहरूबाट परीक्षाका लागि योग्य ४ लाख ७२ हजार ७८ जना विद्यार्थीहरूको प्रमाणित प्राप्ताङ्क विवरण प्राप्त भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
कोरोनाभाइरस संक्रमणका कारण परीक्षा हुन नसकेपछि विद्यालयले अन्तिमपटक लिएको आन्तरिक परीक्षाको आधारमा मूल्यांकन भएको हो। त्यसका लागि सरकारले कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ बनाएको थियो। त्यसैको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो।