कुलोको विषयमा झडप भएपछि प्रहरीले चलायो गोली
बारा जिल्लाका दुई स्थानीय तहका बासिन्दाबीच कुलोको विषयलाई लिएर झडप भएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। दुई स्थानीय तहका दुई पक्षबीच सामूहिक झडप हुँदा नियन्त्रणमा लिन बारा प्रहरीले दर्जनौँ राउन्ड गोली फायर गरेको हो।
सिम्रौनगढ नपा ११ भवानीपुर र आदर्श कोतवाल गापा ६ पटेर्वाका स्थानीयबीच कुलोको विषयलाई लिएर झडप भएको हो।
दुई गाउँका बीचमा बहने सानो कुलोमा माछा मारेको र डुबानमा पारेको विषयलाई दुई गाउँबीच विवाद भएको थियो। कुलो आफ्नो अधिकारमा रहेको दुवै गाउँका स्थानीयको दाबी रहेको छ। माछा मार्ने विषयमा सोमबार दुई गाउँबीच सामूहिक झडप शुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको हो।
दुई गाउँबीच आक्रमण र प्रतिकार भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउन्ड अश्रु ग्याँस र १३ राउन्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको छ।
दुई पक्षबीच भएको झडपमा १२ जना सामान्य घाइते भएको सिम्रौनगढका रामेश्वर मेहताले जानकारी गराएका छन्। झडपको क्रममा केही पसलमा पनि सामान्य क्षति पुगेको मेहताले जानकारी गराए।