वामदेव गौतमको प्रश्न– नेतृत्व असफल भएकै हो?
नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या हल गर्न कार्यदल बनाएर नेतृत्वको क्षमतामाथि प्रश्न उठेको बताएका छन्। सोमबार बिहानको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले आफैले सिर्जना गरेको समस्या हल गर्न कार्यदल गठन गरिनुले नेतृत्वको क्षमतामा प्रश्न उठेको बताए।
तर, प्रधानमन्त्री एवम् अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा नमागिएको गौतमको सचिवालयले प्रष्टोक्ति दिएको छ। सचिवालयले सिर्जना गरेको समस्या समाधानका उपायहरु आफै पत्ता लगाउन नसक्नुले नेतृत्वमा रहेकाहरु असफल भएको गौतमको भनाइ थियो।
“आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हो?”, गौतमले सचिवालयमा प्रश्न उठाएको उनको सचिवालयले उल्लेख गरेको छ। तर, कार्यदलप्रति असहमति नरहेका गौतमले बताएका थिए।
२९ साउनमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले महासचिव बिष्णुप्रसाद पौडेलको नेतृत्वमा ६ सदस्यीय सुझाव प्रस्ताव समिति गठन गरेका थिए। एक महीनापछि आज बसेको सचिवालयले उक्त कार्यदललाई अनुमोदन गरेको छ।
कार्यदललमा पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पप्फा भुसाल सदस्य छन्।