पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा भन्छन् - 'भारतसँग संवादहीनता तोडिएको छ'
पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने संकेत मिलेको बताएका छन्।
पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अन्त्य भएको थापाको विश्वास छ।
नेपाल भारतबीच सीमाका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डा. थापाले गरे।
उनले संवादको शुरुआत मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताए। "दुई देशको विकास निर्माण सम्बन्धी निकायले ढिलासुस्ती गर्दा काम नभएको भन्ने गुनासो बारम्बार भएको हो। त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समीक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनु सकारात्मक कुरा हो" उनले भने।
लामो समयदेखि नेपाल र भारतबीच कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भइरहेको थिएन। भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच भएको वार्ताले समस्याहरुको समाधान वार्ताबाट खोज्न थालेको आभास भएको थापाले बताए।
उनले यसबाट संवादको शुरुआत मात्रै नभएर समझदारीको नयाँ आधार खडा गरेको विश्लेषण गरे।
सीमा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो।
यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको थियो ।
त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग सुरक्षा, विकास र विश्वासको वातावरण बनाएर साझेदारीका साथ सांस्कृतिक, आर्थिक र सामाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताएका थिए।