कोरोना संक्रमण बढेपछि काठमाडौं महानगरको १४ नम्बर वडा सिल
कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ पूर्णरुपमा सिल गरिएको छ। वडाको कुलेश्वर, बल्खु, खड्का गाउँ, लाम्पाटी लगायतका ५० जनामा कोरोना संक्रमण देखिएपछि २७ साउनदेखि ८ भदौसम्मका लागि पूरै वडा सिल गरिएको हो।
वडाअध्यक्ष शोभा सापकोटाका अनुसार असावधानीका कारण फलफूल, तरकारी र खाद्यन्न पसलहरुबाट संक्रमण वडामा फैलिएको आशंकामा पूरै सिल गरिएको हो। अत्यावश्यक सामाग्री खाद्यन्न, दुध, पानी, ग्यासका पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न मिल्ने छ भने अत्यावश्यक भन्दा बाहेकका पसल, रेष्टुरेन्ट लगायत सबै बन्द रहनेछन्।
वडामा संक्रमण बढेपछि सामाजिक व्यवहारमा समस्या देखिन थालेको र एकआपसमा असहयोग समेत हुन थालेपछि पूर्णरुपमा सिल गर्नु परेको सापकोटाको भनाइ छ।
सचेतनाका लागि माइकिङ
वडा सिल गर्दा पनि नागरिकहरुको भिडभाड नघटेपछि स्थानीय क्लबहरु, टोल सुधार समिति, महिला समूह, उपभोक्ता समितिलाई आफ्नो घर तथा टोल सुरक्षित राख्न आह्वान गरिएको अध्यक्ष सापकोटाले बताइन्।
अहिले दैनिक माइकिङ गरेर सचेतना जगाउनुका साथै वडामा स्यानिटाइजर छर्किने काम समेत भइरहेको जानकारी उनले दिइन्। संक्रमित भएका र संक्रमण भएर निको भइसकेका परिवारका मानिसलाई पनि स्थानीयबाट असहयोग हुन थालेपछि माइकिङ नै गरेर सबैलाई त्यसो नगर्न आग्रह गरिएको जानकारी सापकोटाले दिइन्।
अति आवश्यक नपरेसम्म बाहिर ननिस्कने, निस्कनै परे मास्क अनिवार्य प्रयोग गर्ने र सकेसम्म पन्जा लगाउन उनले सर्वसाधारणलाई अनुरोध गरेकी छन्।