सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको म्याद थप गर्न प्रस्ताव
सामाजिक सुरक्षा भत्ता लिनेहरुका लागि परिचयपत्र नवीकरण गर्ने म्याद थपको तयारी गरिएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले चार महीना म्याद थप गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा पठाएको हो। सामाजिक सुरक्षा नियमावलीअनुसार सामाजिक सुरक्षा प्राप्त गर्नेले नयाँ आर्थिक वर्ष शुरु भएपछि साउन मसान्तभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधान छ।
विभागका निर्देशक शिवराज जोशीले कोभिड १९ का कारण परिचयपत्र नवीकरण नभएकाले म्याद थपको प्रस्ताव मन्त्रालयमा पठाएको जानकारी दिए।
उनले भने, “कोभिडका कारण धेरै नवीकरण नभएको भन्ने आएको छ, साउन मसान्तसम्म गरिसक्नुपर्ने हो। तर, यसपटक कोरोनाका कारण जटिल परिस्थिति भएकाले चार महीना म्याद थपको प्रस्ताव गरिएको छ।”
अब म्याद थपको प्रस्ताव मन्त्रिपरिषदले गर्नुपर्छ।। निर्देशक जोशी भन्छन्, “नियमावलीमै साउन मसान्त भित्र नवीकरण गर्नुपर्ने प्रावधान भएकाले त्यो निर्णय क्याबिनेटबाटै गर्नुपर्छ। हामीले प्रस्ताव गरेको जति नै समय थप हुन्छ वा कति हुन्छ अहिले भन्न सकिँदैन।”
सामाजिक सुरक्षा भत्ता प्रत्येक चौमासिकमा दिने व्यवस्था भएकाले साउनमा नवीकरण नगर्दैमा भत्ता नपाइहाल्ने अवस्था भने नआउने विभागले जनाएको छ।
देशभर सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २९ लाखको हाराहारीमा रहेको सरकारको तथ्यांक छ।
अहिले सरकारले जेष्ठ नागरिक भत्ता ७० वर्ष माथि, जेष्ठ नागरिक भत्ता, दलित तथा एकल महिला, अपांगता भत्ता (क र ख वर्ग), विधवा भत्ता, लोपोन्मुख जाति र बाल पोषण भत्ता प्रदान गर्दै आएको छ। सामाजिक सुरक्षा भत्ता एक सय भन्दा बढी स्थानीय तहले ब्यांकबाट प्रदान गर्दै आएका छन्।