सम्भव छ पहिरोबारे पूर्वसूचना प्रणाली
३० साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये सोमबारसम्म १९ जनाको शव भेटिएको छ। त्यहाँ अझै २० जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस वर्षको मनसुनमा मानवीय क्षतिको हिसाबले सबैभन्दा ठूलो घटना लिदीकै हो।
प्राधिकरणका अनुसार, सन् २०१३ देखि १५ अगस्त २०२० सम्मको तथ्यांकले हरेक वर्ष सरदर १२२ जनाको पहिरोमा परेर मृत्यु भएको छ। यस वर्षको मनसुन शुरु भएको ३० जेठदेखि १ भदौसम्म मात्र पहिरोका कारण २०९ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ६३ जना बेपत्ता छन् भने १६१ जना घाइते भएका छन्।
यही अवधिमा बाढीबाट ४ जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता र १ जना घाइते भएका छन्। गृह मन्त्रालयको तथ्याङ्क अनुसार, २०१० अघि बाढीबाट मृत्यु हुने संख्या वार्षिक सरदर २०० भन्दा बढी हुन्थ्यो। तर, अहिले पहिलेभन्दा बाढीबाट हुने मानवीय क्षति कम भएको छ।
बाँकेको कोहलपुरस्थित जल–मौसम कार्यालयका इञ्चार्ज, हाइड्रोलोजिष्ट विनोद पराजुली पूर्व सूचना प्रणालीले ठूला नदी तटीय क्षेत्रमा बाढीबाट हुने मृत्यु शून्य भएको दाबी गर्छन्। कोशी, नारायणी, कर्णाली, राप्ती जस्ता ठूला नदीमा बाढी आउनूपूर्व नै सूचना दिने प्रणालीको विकासले मानवीय क्षति नभएको उनको भनाइ छ।
“यसपालि नारायणीको बाढीको बहावले अहिलेसम्मको रेकर्ड नै ब्रेक गर्यो, तर मानवीय क्षति शून्य भयो। डुबान भए पनि मानवीय क्षति भएका घटना छैनन्”, पराजुली भन्छन् “पूर्वसूचना प्रणालीले नै मानवीय क्षति कमी भएको हो।”
जसरी पूर्वसूचना प्रणालीले बाढीबाट हुने क्षति कम हुन सक्यो, पहिरोबाट हुने क्षति पनि कम गर्न सकिने विज्ञहरु बताउँछन्।
ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्तराज अधिकारी पहिरोको बारेमा पनि पूर्व सूचना प्राप्त गर्न सकिने बताउँछन्। र, सूचनाका आधारमा पहिरोबाट हुने मानवीय क्षतिलाई केही हदसम्म कम गराउन सकिन्छ। तर, यो बाढीको जस्तो सजिलो छैन।
उपप्राध्यापक अधिकारीका अनुसार, पहिरोबाट हुने मानवीय क्षतिलाई कम गराउन पहिले पहिरो जाने सम्भावित स्थानहरू पत्ता लगाएर त्यसको नक्शा तयार गर्नुपर्छ। त्यसपछि ती स्थानमा उपकरण जडान गरेर त्यहाँबाट प्राप्त हुने सूचनाका आधारमा पहिरो जाने सम्भावनाबारे समुदायलाई जानकारी गराउन सकिने उनी बताउँछन्।
अधिकारी भन्छन्, “पहिरोको बारेमा पूर्व सूचना उपलब्ध गराएर त्यसबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।”
त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका सहायक प्राध्यापक डा. रञ्जन दाहाल पनि पहिरोबाट हुने क्षतिलाई कम गराउन पूर्व सूचना प्रणाली महत्वपूर्ण हुने बताउँछन्।
सफल प्रयोग
पहाडी भू–बनोट र कमजोर चुरे लगायतका कारण नेपाल सधैं पहिरोको जोखिममा छ। त्यसमाथि, जोखिमको पूर्व मूल्यांकन नगरी भिरालो र पहिरो जाने सम्भावना भएका स्थानमा बसेका मानव बस्ती र विकासका नाममा पहाडी भेगमा डोजरको अन्धाधुन्द प्रयोगले पहिरोको जोखिम झन् बढाएको छ।
पहिरोको जोखिम भएको ठाउँमा पूर्व सूचना जारी गरेर क्षति कम गराउन सकिन्छ भन्ने प्रयोग नेपालमै सफल भएको छ।
दोलखाको कालिञ्चोक गाउँपालिकाको सुन्द्रावती गाउँमा अध्ययनका रूपमा गरिएको पहिरोको पूर्व सूचना प्रणालीले पहिरो जानुपूर्व नै समुदायलाई सूचना प्रवाह गरेर त्यहाँको मानवीय क्षति हुनबाट बचाएको थियो। भूकम्पबाट प्रभावित उक्त क्षेत्रमा वन मन्त्रालय तत्कालीन वन तथा भू संरक्षण मन्त्रालय, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्तराज अधिकारीले उक्त स्थानमा अध्ययन गरेका थिए ।
उक्त अध्ययनमा संलग्न उपप्राध्यापक अधिकारीका अनुसार, २०७५ साउनमा गएको पहिरोबाट सुन्द्रावतीका ११७ घरका ४९५ जनालाई पहिरो जानुपूर्व नै मोबाइल फोनमा एसएमएस मार्फत सूचना उपलब्ध गराएर सुरक्षित गरिएको थियो।
अधिकारीका भनाइमा पहिले पहिरो जाने स्थानको पहिचान गरिएको थियो। त्यसपछि उक्त स्थानमा वर्षा मापन, माटोमा पानीको मात्रा र चिरा परेको भागमा जमीन चलेको मापन गर्ने उपकरणहरू जडान गरिएको थियो। उपकरणले पहिरो जाने स्थानका सूचनाहरु कम्प्युटरमा पठाएको थियो। त्यसैको आधारमा स्थानीयलाई सूचना उपलब्ध गराइएको थियो। जमीनको भाग चलायमान भएपछि साइरन बजेको थियो।
सम्भावित पहिरो जाने स्थानमा उपकरण जडान गरी समुदायलाई तालिम दिएर उनीहरुबाटै सञ्चालन गर्न सकिने उपप्राध्यापक अधिकारी बताउँछन्। उनका भनाइमा दोलखामा प्रयोग गरिएको उपकरण जडानका लागि रु. ५ लाखदेखि ७ लाख खर्च हुन्छ। “ठाउँ अनुसार भूबनोट फरक हुन्छ, भूबनोट अनुसार नै पहिरोको प्रकृति फरक हुन्छ” उनी भन्छन्, “पहिरोबाट क्षति कम गर्न सबैभन्दा पहिले चाहिं पहिरो जाने स्थानको पहिचान गरेर नक्शा तयार गर्नुपर्छ। त्यसैका आधारमा पूर्व सूचनाको काम गर्न सकिन्छ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पहिरोको सम्भावित जोखिमका बारेमा पूर्वसूचना उपलब्ध गराउने काम शुरु गरिएको बताउँछन्। “हामीले वर्षाको अवस्थाका आधारमा जोखिमयुक्त स्थानमा पहिरो जान सक्छ भन्ने जानकारी उपलब्ध गराउन शुरु गरेका छौं” पोखरेल भन्छन्, “पहिरोको पूर्वसूचना उपलब्ध गराउनु बाढीको जस्तो सजिलो छैन। कुनै स्थानमा धेरै वर्षा हुँदा पनि पहिरो जाँदैन, कुनै स्थानमा कम वर्षामा पनि पहिरो जान्छ।” उनी पूर्व सूचना दिंदैमा सबै कुरा ठीक हुन्छ भन्ने यकिन पनि नभएको बताउँछन्।
मौसमविद्हरू भने पहिरो जानुको एउटा कारण मनसुनी वर्षा भए पनि त्यसमा मात्र आधार रहेर विश्लेषण गर्न नहुने बताउँछन्। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल पहिरो जाने एउटा कारण मनसुनी वर्षा भए पनि जोखिम र क्षति बढाउने काममा मानवीय गतिविधि प्रमुख कारक रहेको ठान्छिन्।
“कस्तो ठाउँमा वस्ती बसाउने र कहाँ–कहाँ सडक बनाउने भन्ने कुराको हामीले स्पष्ट मापदण्ड बनाउनुपर्छ। किनकि मनसुनमा मनसुनी वर्षा संगै अव्यवस्थित विकास निर्माणका कार्यका कारण क्षति निम्तिने गरेका छन्” उनी भन्छिन्, “जथाभावी भइरहेका विकास–निर्माणका कामलाई मापदण्ड बनाएर सञ्चालन गर्दा विपद्का घटना धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।”