बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन
रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्षेनी डुबान र बाढीको समस्या निम्त्याउने बागमती र बकैया नदी नियन्त्रणका लागि निर्देशन दिएका छन्।
बाढी ल्याउने, डुबानमा पार्ने तथा कटानले गरेर सधैँ बस्तीलाई जोखिममा पार्ने मुख्य समस्याको रुपमा रहेका बागमती र बकैया नदीको दीर्घकालीन रुपमा नियन्त्रण गर्न यादवले निर्देशन दिएका हुन्।
पछिल्लो समयमा बागमती नदीले कटान गरेका स्पर तथा तटबन्धहरुको सुरक्षा प्रमुखहरु, नदी नियन्त्रण कार्यालय प्रमुख तथा प्राविधिकहरुको संयुक्त टोलीसहित स्थलगत निरीक्षण गर्दै प्रजिअ यादवले बागमती र लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख तथा प्राविधिकलाई बाढीको समय सकिनासाथ दीर्घकालसम्म टिकाउ हुने गरी नदी नियन्त्रण गर्न निर्देशन दिएका हुन्।
गत साउन महीनामा बागमतीले पश्चिमी किनारका ब्रह्मपुरी, बसतपुर, मत्सरी, बडहर्वा, गंगापिपरा, पिपरा रजवाडालगायत गाउँनजिक स्पर र तटबन्धमा कटान गरेको छ। बागमतीको कटानले कतिपय गाउँमा खतराको स्थिति उत्पन्न भएको देखिएको छ।
नदीको नियन्त्रण गर्दा बाढी, डुबान र कटान सबै पक्षलाई ध्यान दिनुपर्ने र असारमा नदी नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने प्रजिअ यादवको भनाइ छ। बाढीको समय सकिनासाथ नदी नियन्त्रणको काम तत्काल थालिहाल्नुपर्ने प्रजिअ यादवको निर्देशन अत्यन्तै सकारात्मक रहेको मत्सरीका स्थानीयको भनाइ छ।
नदी कटानको स्थलगत निरीक्षण टोलीमा प्रजिअ यादव, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका प्रमुख एसपी अभिनय सिंह, बागमती–लालबकैया नदी नियन्त्रण कार्यालय प्रमुख राजकुमार श्रीवास्तवसहित प्राविधिकहरुको सहभागिता रहेको थियो ।