एक महीनामै प्रदेश–२ मा थपिए तीन हजार संक्रमित
-नानीमैया कटवाल
प्रदेश–२ मा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेश–२ मा २०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना संक्रमित थपिएका हुन्। एक महीनाको अवधिमा प्रदेश २ मा करिब तीन हजार संक्रमित थपिएका छन्।
प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार, असार मसान्तसम्म तीन हजार ९११ जना संक्रमित रहेकामा साउन मसान्त सम्म छ हजार ८२१ पुगेको छ। पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय संक्रमित उपचारत छन्।
मन्त्रालयका अनुसार, संक्रमित बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ। असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ सङ्क्रमित रहेको थियो।
असार मसान्तसम्म तीन हजार ९११ जना संक्रमित रहेकामा साउन मसान्त सम्म छ हजार ८२१ पुगेको छ।
मृत्यु हुनेको संख्या पनि बढेको छ। असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक÷एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको संख्या ४५ पुगेको छ। ती मध्ये ११ महिला र ३४ पुरुष छन्। मृतक मध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
प्रदेश २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन्। संक्रमित मध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
उनका अनुसार उपचारपछि निको भएर घर फर्किका मध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन्।