विद्युत प्राधिकरण सञ्चित मुनाफामा पुग्यो, वार्षिक नाफा रु. ११ अर्ब नाघ्यो
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा रु.११ अर्ब ५ करोड नाफा गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लामो समय घाटामा रहेको यो संस्था पछिल्ला चार वर्षयता निरन्तर नाफामा छ।
डेढ दशकभन्दा लामो समयपछि प्राधिकरणले सञ्चित मुनाफा हासिल गरेको छ। गत आर्थिक वर्ष प्राधिकरणको सञ्चित मुनाफा रु.४ अर्ब ८६ करोड पुगेको छ। यद्यपि, आर्थिक वर्ष २०६७/६८ मा सरकारले प्राधिकरणको करिब रु.२७ अर्ब घाटा अपलेखन गरेको थियो। त्यसपछिका वर्षमा पनि निरन्तर घाटामा गएर आर्थिक वर्ष २०७२/७३ मा सञ्चित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो।
आर्थिक वर्ष २०७३/७४ पछि भने प्राधिकरणले नाफा कमाउन थालेर सञ्चित नोक्सानबाट नाफाको अवस्थामा पुगेको हो। प्राधिकरणले विद्युत प्रणालीमा रहेको २५.७८ प्रतिशतको चुहावटलाई पनि गत आर्थिक वर्षमा १५.२७ प्रतिशतमा सीमित गरेको जनाएको छ। विद्युत चुहावट कम गर्दा प्राधिकरणको आम्दानीमा सकारात्मक असर परेको छ। पछिल्ला चार वर्षदेखि प्राधिकरणले चुहावट नियन्त्रणको अभियान नै चलाएको छ।
त्यस्तै, भारतबाट आयात हुने विद्युत पनि २२ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ। देशमा लोडसेडिङ दैनिक १४ घण्टा रहँदा भारतबाट ३५ प्रतिशत विद्युत आयात गरिने गरेको थियो। आगामी आर्थिक वर्षदेखि विद्युत आयात ५ देखि १० प्रतिशतमा सीमित रहने प्राधिकरणले जनाएको छ। गत वर्ष प्राधिकरणले १० करोड ७० लाख युनिट विद्युत निर्यात गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चार वर्षमा प्राधिकरणको विद्युत पहुँच ६३ प्रतिशतबाट ८६ प्रतिशत घरपरिवारमा पुगेको छ । प्राधिकरणका करिब ४२ लाख उपभोक्ता छन्।