नेकपाका दुई अध्यक्षले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन
पार्टीभित्रको विवाद हल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदल नेकपाको सचिवालयले अनुमोदन गरेको छ। २९ साउनको दुई अध्यक्षको छलफलले महासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो।
दुई अध्यक्षले कार्यदल बनाएपछि बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए। यी तीन नेताको मागअनुसार, एक महीना पछाडि सचिवालय बैठक समेत बसेको छ।
गएको ३ साउनको सचिवालय बैठकपछि फेरि बस्न सकेको थिएन। तर, शीर्ष नेताहरुको सहमतिमा कार्यदल बनेपछि भने सचिवालय बसेको छ।
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक अन्योलमा पार्दै पार्टी विभाजनकै नजिक पुगेपछि सहमति खोज्न भन्दै ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
कार्यदलमा ओली, दाहाल र बरिष्ठ नेता नेपाल तर्फका दुई–दुई जना सदस्य छन्। कार्यदलमा पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्।