अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी पक्राउ
प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने एक विदेशीलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत एक महिलालाई बिहेको प्रलोभन देखाएर रु.४८ लाख ५४ हजार ठगी गरेको आरोपमा रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भन्दै उनले ती महिलालाई ठगी गरेका थिए। नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु.२ लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन भनी ती व्यक्तिले महिलासँगउक्त रकम मागेको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
प्रहरीले कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरेको जनाएको छ। “कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक थप रु.२० लाख रुपैयाँ मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट उनलाई नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भने। ती व्यक्तिले सोही दिन अर्की युवतीबाट पनि रु.३७ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ। खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद भएको प्रवक्ता कार्कीले बताए। ती व्यक्ति फागुन २०७६ मा नेपाल आएका हुन्।
ती व्यक्तिसँग नेपाली रु.३ लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापटप एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।