पत्नी हत्यामा थुनामा रहेका पूर्व डीआईजी रञ्जन काेइराला रिहा
पत्नीको हत्या पुष्टि भएपछि जन्मकैदको सजाय भोग्दै आएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला आज रिहा भएका छन्।
डिल्लीबजार कारागारमा सजाय काटिरहेका उनी मध्याह्न १२ बजेतिर रिहा भएका हुन्। कोइरालाको जन्मकैदको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि उनी थुनामुक्त भएका हुन्।
सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले बुढानीलकण्ठस्थित घरमा पत्नी गीता ढकालको हत्या गरेका थिए । हत्यापछि गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको तीन तहकै अदालतमा पुष्टि भएको थियो।
काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई सर्वश्वसहित जन्मकैदको सजाय गरेका थिए, त्यस विरूद्ध कोइराला सर्वोच्च अदालत पुगेका थिए।
१५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाइदिएको हो । सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे ८ वर्ष मात्रै कैद गर्दा पनि 'सजायको मकसद पूरा हुने' भन्दै कैद घटाउने निर्णय गरे अनुसार उनी ८ वर्ष ६ महीना कैदमा बसेर आज रिहा भएका हुन्।
कोइराला ८ माघ २०६८ मा पक्राउ परेका थिए।