सौभाग्य प्रधानाङ्ग: सांस्कृतिक शहरले बनायो पुरातत्वविद्
जात्रैजात्राको शहर भक्तपुरमा जन्मे–हुर्केकी सौभाग्य प्रधानाङ्गले संस्कृति, सम्पदाप्रतिको चाखका कारण यसैलाई कार्यक्षेत्र बनाइन्। दुई दशकदेखि यो क्षेत्रमा समर्पित उनी पछिल्लो समय महत्वपूर्ण अभिलेखको अध्ययन र संरक्षण गर्ने जिम्मेवारीमा छिन्।
राष्ट्रिय अभिलेखालयकी निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गको उसो त काम हो, विभिन्न निकायमा सिर्जना भएका र राष्ट्रिय अभिलेखालयमा संकलित अभिलेखको संरक्षण, व्यवस्थापन तथा अध्ययन अनुसन्धान र सेवाग्राहीलाई सेवा प्रदान गर्ने। तर, ती सामग्रीको स्पर्शमा उनी रमाउँछिन्। पुराना लेखोट र ढुसी परेका कागजपत्रको संरक्षणमा पनि उनी सुगन्ध भेट्छिन्।
संस्कृति, सम्पदा र पुरातत्वको क्षेत्रमा वर्षौं काम गरेकी उनले आफ्नो कर्ममा लगाव राख्नुमा हुर्काइ र स्थानीय परिवेशको प्रभाव गाँसिएको छ। अन्ततः उनले जीवनसँग जोडिएको र रुचिको क्षेत्रलाई नै काम बनाइन्।
भक्तपुरको नगदेशमा जन्मेकी हुन् सौभाग्य। उनको समुदायमा १२ महीनामा १४ वटा पर्व मनाइन्थ्यो। घरमा हरेक पूजा विधि पुर्याएर गरिन्थ्यो।
भक्तपुरमा पनि ठाउँ अनुसार फरक–फरक संस्कृति छ। संस्कृति फरक भए पनि विधि भने लगभग मिल्ने उनी बताउँछिन्। नगदेश सहित अन्य स्थानमा मनाइने घन्टा कर्ण (गथाः मुगः), सिथिः नखः लगायत अन्य जात्रा पर्वमा रमाउँदै सहभागी हुने गरेको बाल्यकालका दिनहरू उनी अझै सम्झन्छिन्।
सौभाग्यका बुवा समाजसेवी थिए। टोल समाजमा बुवाको पछि लागेर जाँदा जात्रा, पूजा, डबलीमा देखाइने नाटकहरु न्जिक देखि नियाल्ने मौका पाइन्। बुवासँग हिंड्दाहिंड्दै संस्कृति प्रति रुचि बढ्न थाल्यो।
“खासमा बुवाको पछि लागेर हिंड्ने बेलादेखि ममा संस्कृतिप्रति रुचि बढेको थियो।”
उनी दश वर्षकी हुँदा उनको बुवाको निधन भयो। तर, बुवा मार्फत खुलेको सिकाइ र ज्ञानको ढोका त्यसपछि पनि उघ्रिरह्यो, र अझै फराकिलो हुँदै गयो। एक दाइ र एक दिदीकी कान्छी बहिनी भएकाले घरायसी काममा पूर्णरुपमा लाग्नु नपर्दा उनले पर्व, पूजा, जात्रा आदिमा मग्न हुन पाइन्। त्यस्ता कार्यमा सहभागी हुन सबैभन्दा अगाडि हुन्थिन्।
“घरमा हुने पूजाको सम्पूर्ण विधि पु¥याउनुपथ्र्यो। त्यस क्रममा हुने तयारी रमाइलो मानेर हेर्ने गर्दा त्यसप्रति रुचि झन् बढ्दै गयो”, सौभाग्य भन्छिन्, “खासमा बुवाको पछि लागेर हिंड्ने बेलादेखि ममा संस्कृतिप्रति रुचि बढेको थियो।”
भक्तपुरको थिमी स्थित श्री सिद्घि गणेश विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी सौभाग्यले पद्यकन्या कलेजमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषय लिएर अध्ययन थालिन्। आफ्नो रुचिको विषयमा स्नातक गरिन्।
नेपाल हेरिटेज सोसाइटीबाट सम्पदा क्षेत्रमा काम शुरु गर्दै उनले प्रोफेसर डा. मुकुन्दराज अर्याल, उकेशराज भुजु, अनिल चित्रकार लगायत सम्पदा विज्ञहरुसँग सहकार्य गर्ने मौका पाइन्। त्यसले उनलाई सम्पदाबारे थप सिकायो। त्यसपछि ललितपुर उपमहानगरपालिका अन्तर्गत यूएमईडिपी प्रोजेक्टबाट सिनियर आर्कोलोजिष्टको रूपमा दुई वर्ष काम गरिन्। त्यहाँ उनको नेतृत्वमा किरातको दरबार मानिने पट्को डों उत्खनन् भएको थियो।
उनको नेतृत्वमा ललितपुरका २१ वटा सिटी गेटको स्थान पहिचान र सूचीकरण गरिएको थियो। त्यसै गरी, ललितपुरमा ६१ ढुंगेधारा रहेको र त्यसमध्ये ८ वटा पुरिएको पहिचान गरिएको थियो। पुरिएका ढुंगेधाराहरू अझै उत्खनन् गरिएका छैनन्।
काम गर्दै पढाइलाई निरन्तरता दिइरहेकी उनले त्रिविबाट २०५६ सालमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयको स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भई स्वर्ण पदक सहित स्वर्गीय राजा वीरेन्द्रबाट महेन्द्र विद्या भुषण पदक पाएकी थिइन्।
युनेस्कोको प्रोजेक्टमा काम गर्दागर्दै तत्कालीन ललितपुर उपमहानगरपालिकाले उनलाई पुरातत्व तथा संस्कृति अधिकृतको रुपमा करारमा नियुक्त गर्यो। त्यहाँ रहँदा २०५७ देखि २०६६ सालसम्म ललितपुर केन्द्रित भएर मूर्त–अमूत सम्पदाहरुबारे थुप्रै काम गरिन्।
त्यो समयमा उनको नेतृत्वमा ललितपुरका २१ वटा सिटी गेटको स्थान पहिचान र सूचीकरण गरिएको थियो। त्यसै गरी, ललितपुरमा ६१ ढुंगेधारा रहेको र त्यसमध्ये ८ वटा पुरिएको पहिचान गरिएको थियो। पुरिएका ढुंगेधाराहरू अझै उत्खनन् गरिएका छैनन्।
अस्तित्वमा रहेका ५३ वटा ढुंगेधारा संरक्षण गर्न उनले उपमहानगरपालिकाबाट बजेट विनियोजन गरेर नै सिथिः नखः को दिन ढुंगेधारा सफा गर्ने अभियानको शुरु गरिन्। त्यो अभियानलाई ललितपुरवासीले निरन्तरता दिइरहेका छन्।
त्यस क्रममा ललितपुर महानगरभित्रका ढुंगेधाराहरू रहेको स्थान पहिचान गरी सूची निकालिन्। साथै, काठमाडौं महानगरभित्रका ढुंगेधाराहरू रहेको स्थानको पहिचान गरी सूची तयार गर्ने कामको पनि नेतृत्व गरिन्।
स्थान पहिचान गरेर कार्यक्षेत्रमा खटिंदा विद्यार्थी वा शोधकर्ताको परिचय बनाएर जानुपर्ने बाध्यतालाई उनी सुनाउँछिन्। स्थानीयसँग सोधखोज गर्दा केहीले सहजै भन्छन्, कतिपयले थाहा भएको कुरा पनि भन्न गाह्रो मान्छन्।
काठमाडौंको लगनटोलस्थित यङ्गल हिटी खोज्न जाँदाको अनुभव सुनाउँदै उनी भन्छिन् “त्यो धारा निजी स्वामित्वको बनाइसकिएको थियो। म पाँचौं पटक गएपछि बल्ल प्रवेश गर्न दिइयो। त्यहाँ लिच्छविकालीन दुई वटा अभिलेख पनि छ। त्यसैका आधारमा स्थानीयले धेरै संघर्ष गरेर ढुंगेधारा सार्वजनिक बनाइएको छ।”
उनी संस्कृति र सम्पदा बचाउनमा स्थानीयहरू नै सजग र अग्रसर हुनुपर्ने बताउँछिन्। “आफ्नो संस्कृति, सम्पदा बचाउने पहिलो जिम्मेवारी हामी स्थानीयकै होे”, उनी भन्छिन्।
उनले नेवारी परम्पराबाट सजिएको सांस्कृतिक बस्ती खोकनाका सम्पदाहरुको सचित्र सूची पनि तयार गरेकी थिइन्। पुरानो संस्कृति तथा सम्पदा सम्बन्धित पुस्तक पढेर तथा स्थानीय ज्येष्ठ नागरिकहरूको कुरा सुनेर त्यो सूची तयार पारेको उनले बताइन्।
सम्पदामा दुई दशक
ललितपुर उपमहानगरमा संस्कृति तथा पुरातत्व अधिकृत भै काम गरिरहँदा नेपाल सरकारको निजामति सेवा अन्र्तगत संग्रहालय अधिकृत पदमा दरबन्दी खोल्यो र संग्रहालय अधिकृतमा नाम निकाल्न उनी सफल भइन। “तर मेरो रुचि र दक्षता संस्कृति तथा सम्पदामा भएकाले पुरातत्व विभागमा काम गर्ने चाहना थियो”, उनी भन्छिन्।
त्यसमा काम गर्न थालेको ६ महीनापछि उप–सचिवमा पनि खुला प्रतिस्पर्धाबाट उनको नाम निस्कियो र पुरातत्व विभागमा प्रमुख पुरातत्व अधिकृतको जिम्मेवारी पाएर करीब ५ वर्ष काम गरिन्। पुरातत्व विभागमा रहँदा स्मारक संरक्षण शाखाको प्रमुख भई स्मारक संरक्षण सम्बन्धी महत्वपूर्ण कार्यहरु गरेको र विश्व सम्पदा संरक्षण शाखाको प्रमुख भै विश्व सम्पदामा सुचिकृत सम्पदाहरुको संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण कार्यहरु गरेकी थिइन। त्यस्तै मनकामना मन्दिर जीर्णोद्धार कार्यको परियोजना प्रमुख भई संरक्षण एवं जीर्णोद्धार कार्यमा सक्रिय सहभागी भएकी थिइन्।
२०७२ वैशाखमा भूकम्प गएपछि दैनिक १८ घण्टा कार्यक्षेत्रमा खटिएर काम गरिन्। पाँच महीने छोरी घरमा छोडेर काममा व्यस्त हुनुपरेको स्मरण गर्दै भन्छिन् “त्यसवेला काठमाडौं उपत्यकामा खटिएका उद्घार टोलीको नेतृत्व गरेको थिएँ। आपतकालीन समयको व्यवस्थापन गर्नुपर्ने भएकाले घरमा काखे छोरी भए पनि काम नै मेरो प्राथमिकतामा थियो।”
भूकम्पको वेला सफलतापूर्वक जिम्मेवारी सम्हालेकी सौभाग्य सरुवा भएर त्यही वर्ष भदौमा राष्ट्रिय अभिलेखालयको प्रमुख भइन्। त्यहाँ उनको रुचि भित्रकै नयाँ अनुभव शुरू भयो। उनी भन्छिन् “इँटा, माटो, ढुंगा र मन्दिरमा केन्द्रित भएर काम गरिरहेकी थिएँ। अब अक्षरमा केन्द्रित भएकी छु, यो पनि मेरो रुचिकै विषय भएर थप रमाइलो भइरहेको छ।”
अभिलेखालयको काम फरक भए पनि उनका लागि पूर्ण रुपमा नौलो भएन। किनभने, कलेजमा ब्राह्मी लिपि, पूर्वी लिच्छवि, उत्तर लिच्छवि लिपिहरू पढेकी थिइन्। काम गर्ने क्रममा पनि विभिन्न लिपिमा लेखिएका अभिलेखहरू पढ्नुपथ्र्यो। उनी यी लिपिहरूसहित रञ्जना, भूजीमोलो, नेवारी, देवनागरी र अंग्रेजी लिपि पढ्न सक्छिन्।
“मानव अतिक्रमण तथा लापरबाहीका कारण पानीका मुहान सुक्दै जान थालेका छन्, यसैले मानव जीवनसँग जोडिएको यो विषयमा अध्ययन गर्ने जमर्को गरेकी छु।”
अभिलेखालयमा प्रमुख आएर काम गर्न थालेपछि कार्यकालको अर्को रमाइलो चरणमा आइपुगेको बताउँदै उनी भन्छिन् “यहाँभित्र ज्ञानको अथाह भण्डार छ। मैले संस्कृति, सम्पदामा वर्षौं काम गरें, तर यहाँ नआएको भए मेरो काम अधुरो रहने रहेछ जस्तो लागिरहेको छ।”
उनका भनाइमा संस्कृति, सम्पदा, अभिलेख एक अर्काका परिपूरक हुन्। यी क्षेत्रमा काम गर्न थालेको दुई दशकभन्दा बढी भइसक्दा अभिलेखलाई उनी सभ्यता, संस्कृति, इतिहास र समग्रमा राष्ट्रको चिनारीका रूपमा परिभाषित गर्छिन्।
उनले ‘पानीका स्रोतहरूको संरक्षण’ विषयमा विद्यावारिधि अनुसन्धानको क्रममा छिन्। “मानव अतिक्रमण तथा लापरवाहीका कारण पानीका मुहान सुक्दै जान थालेका छन्, यसैले मानव जीवनसँग जोडिएको यो विषयमा अध्ययन गर्ने जमर्को गरेकी छु”, उनी भन्छिन्।
अभिलेखालयमा भइरहेका काम
राष्ट्रिय अभिलेखालयमा सौभाग्य जाँदा पुराना कागजात थुप्रोको व्यवस्थापनको प्रक्रियामा थियो। अहिले त्यसको संरक्षण एवं व्यवस्थापन गरेर राखिएको छ। अभिलेखालयले पछिल्लो समय नयाँ काम शुरु गरेको छ। उनका अनुसार, अभिलेख भएका संस्थाहरूसँग संरक्षणका लागि सहकार्य र समन्वय के कसरी गर्न सकिन्छ भनेर सहकार्य गर्दै काम शुरू गरिएको हो।
जनमानसमा अभिलेख सम्बन्धी जनचेतना नहुँदा सर्वसाधारणसँग भएका धेरै अभिलेख नष्ट भइरहेका छन्। हस्तलिखित, धार्मिक ग्रन्थलाई मात्रै अभिलेख मान्ने बुझाइ छ। यसैले राष्ट्रिय अभिलेखालयले अभिलेखबारे जनचेतना बढाउने गरी गोष्ठी, अन्तरक्रियाहरु सञ्चालन गरिरहेको छ।
उनी भन्छिन् “अभिलेख भनेको पुरानो कागज मात्रै होइन। आज हुने वा भएका महत्वपूर्ण सन्धि सम्झौता लगायत महत्वपूर्ण कागजात भोलिका अभिलेख हुन्। त्यसैले हरेक कामको कागजात, प्रमाण संरक्षण गर्नुपर्छ भनेर चेतना सबैमा फैलाइरहेका छौं।”
हरेक व्यक्तिको घरमा अभिलेखहरु हुने भन्दै उनी सय÷पचास वर्ष अघिको तमसुक, नक्सा, पुराना मुद्रा पनि अभिलेख भएको बताउँछिन्। राज्यको विभिन्न शासनकालमा शासकले दिएका बकसपत्र लगायत महत्वपूर्ण दस्तावेजहरु समयमा नै संरक्षण गर्न नसक्दा नष्ट भएको उनको भनाइ छ।
त्यस्ता २५ वर्षभन्दा बढी पुराना कागजात, सक्कल नभए प्रतिलिपि वा तस्वीर भए पनि सुरक्षित राख्न र उपलब्ध गराउन अभिलेखालयले आग्रह गर्दै आएको छ। “गाउँगाउँमा गएर जनचेतना जगाउनुका साथै फोटो खिचेर पनि ल्याइरहेका छौं”, उनी भन्छिन्, “विद्यालय र कलेजहरूमा पनि अभिलेखको महत्व र त्यसको प्रकृतिका विषयमा अन्तक्र्रिया गरिरहेका छौं।”
“अभिलेख भनेको पुरानो कागज मात्रै होइन। आज हुने वा भएका महत्वपूर्ण सन्धि सम्झौता लगायत महत्वपूर्ण कागजात भोलिका अभिलेख हुन्। त्यसैले हरेक कामको कागजात, प्रमाण संरक्षण गर्नुपर्छ भनेर चेतना सबैमा फैलाइरहेका छौं।”
अभिलेख संरक्षण ऐन २०४६ अनुसार, प्रत्येक सरकारी कार्यालयमा भएका कागजात, सन्धि सम्झौता अहिलेदेखि नै सुरक्षित राख्ने र २५ वर्ष भएपछि संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्छ भनेर सम्बन्धित सबैमा आग्रह गरिएको छ। तर, महत्वपूर्ण कागजातहरू अभिलेखालयमा अत्यन्तै न्यून आउने गरेको उनी बताउँछिन्। “कार्यालयहरु सार्नुपर्दा पुराना कागजहरू फ्याँकिने अवस्था आएपछि मात्र यहाँ ल्याउने गर्छन्”, उनी भन्छिन्।
उनका अनुसार, अहिले अभिलेखालयमा आउने नयाँ अभिलेखमा संसद् सचिवालयले पठाउने दस्तावेज, परराष्ट्र लगायत विभिन्न निकायले पठाउने गरेका कागजात मात्रै हुन्। सांसदले बोलेका विषय इतिहासका रूपमा भोलिका पुस्ताका लागि सुरक्षित राखिएको र अभिलेखालयमा गएर पढ्न सक्ने व्यवस्था रहेको उनी बताउँछिन्। यसका साथै, निजी संकलनमा रहेका महत्वपूर्ण कागजातहरु पनि संरक्षणका लागि आउन थालेका छन्।
अहिले अभिलेखालयले अभिलेखहरूलाई डिजिटाइज गरी छुट्टाछुट्टै तीन स्थानमा राख्ने पहल थालेको छ। भोलि कथम् कदाचित एक स्थानमा रहेको अभिलेखमा समस्या भए त्यसको प्रतिलिपि सुरक्षित होस् भनेर यस्तो प्रक्रिया थालेको उनको भनाइ छ।
जनशक्ति अभावका कारण जुन रुपमा काम गर्न सकिन्थ्यो, त्यसरी गर्न नसकिरहेको उनी स्विकार्छिन्। “थोरै जनशक्ति र त्यसमा पनि तालिमप्राप्त जनशक्तिको अभावले काममा प्रभाव पारिरहेको छ”, उनी भन्छिन्।
आफ्नो नेतृत्वलाई परिणाममुखी बनाउँदै आएकी उनी अभिलेखालयको थोरै जनशक्तिको सक्रिय सहभागितामा उच्च परिणाम ल्याउने प्रयत्नमा जुटेको बताउँछिन्।