तीन भारतीय कम्पनीलाई दिइयो रेमडीसिभिर आयातको अनुमति, ७२ घण्टाभित्रै ल्याउने तयारी
नेपाल चिकित्सक संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडीसिभिर औषधी कार्यविधि बनाएर नेपाल भित्र्याउने सहमति बनेको जनाएको छ।
३१ साउनमा चिकित्सक संघ, औषधी व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य मन्त्रालय लगायतका सात संस्थाका पदाधिकारी सम्मिलित संयुक्त बैठकले ७२ घण्टाभित्र कार्यविधि बनाएर उक्त औषधी नेपाल भित्र्याउने सहमति बनेको हो।
छलफलमा संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा र स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. गुणराज लोहनीको उपस्थिति थियो।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले हिमालखबरसँग कुरा गर्दै ३० साउनमा विभागले सिप्ला, हेटेरो र माइलन गरी तीन वटा भारतीय कम्पनिलाई आयात गर्ने अनुमति दिएको बताए।
“शनिवार कम्पनिका प्रतिनिधिहरूसँग भएको बैठकमा उनीहरूले ७२ घण्टाभित्र औषधी ल्याउछौँ भनेका छन्,” ढकालले भने।
भारतीय कम्पनि सिप्लाबाट औषधी आयात गर्ने अनुमति पाएको नेपालको यतिकेम डीस्ट्रीब्युटर प्रालीका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले जतिसक्दो छिटो रेमडीसिभिर औषधी ल्याउने तयारी भइरहेको बताए।
वैद्यले यो अरू औषधी जस्तो सामान्य नभएकाले आयात गर्न एक हप्ता पनि लाग्नसक्ने बताए। “सिप्लाले औषधी निर्यात गर्न भारत सरकारको अनुमति लिनुपर्ने हुन्छ,” उनले भने, “त्यसपछि कति परिमाणमा औषधी स्टकमा छ त्यसका आधारमा नेपाल पठाउँछ।”
उनले उक्त औषधी रक्सौलहुँदै नेपाल भित्र्याउने तयारी भइरहेको बताए। वैद्यका अनुसार भारतबाट दुई हजार भायल रेमडीसिभिर औषधी ल्याउने तयारी भइरहेको छ। उनले एउटा औषधीको मूल्य करिब नेपाली रु. ६५०० पर्ने बताए।