संघीय संसदका पदाधिकारीलाई नेपालको अद्यावधिक नक्शा सहितको लोगो हस्तान्तरण
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्शा अंकित संघीय संसदको प्रतीक आज संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन्।
११ जेठमा बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्य (सांसद) हरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्शा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो।
कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३/५ सेन्टिमिटर व्यास रहेको सचिवालयले जनाएको छ। लोगो वागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो।
प्रति लोगो ५ हजार ५२७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए। संघीय संसदका सदस्यहरूलाई पनि आजैदेखि नयाँ नक्शा अंकित लोगो उपलब्ध गराइने भएको छ।