महीना दिनपछि नेकपाले बोलायो सचिवालय बैठक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। १ भदौमा बिहान ९ः३० बजे सचिवालय बैठक बोलाइएको छ।
गएको ३ साउनदेखि बस्न नसकेको सचिवालय बैठक झण्डै एक महीना पछाडि बस्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी विवाद हल गर्ने गरी सुझाव प्रस्तुत गर्न ६ सदस्यीय कार्यदल बनाएपछि सचिवालय बैठक बोलाइएको हो।
दुई अध्यक्षले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल बनाएपछि सचिवालय बैठकको माग भएको थियो। ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट दुई–दुई जना सदस्य रहने गरी कार्यदल बनेको छ।
तर, तिनै कार्यदलले प्रस्तुत गर्ने सुझावलाई कसरी बढाउने भन्नेबारे समेत निर्णय गर्न सचिवालय बोलाइएको स्रोतले बतायो। गएको १ असारदेखि शुरु भएको स्थायी कमिटी बैठक भने अझै अन्योलमा छ।
१३ साउनमा दुई अध्यक्षले फरक–फरक निर्णय गरेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। तर, कार्यदलले सुझाव तयार पारेपछि भने स्थायी कमिटी बोलाउन प्रधानमन्त्री ओली सहमत भएका छन्।