रौतहटमा एक साता थपियो निषेधाज्ञा
कोरोनाभाइरसको संक्रमण रोकथामका लागि रौतहटमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।
गएको २४ साउनदेखि घोषणा गरिएको निषेधाज्ञा सकिन एक दिन बाँकी रहँदा १ भदौदेखि ७ भदौ राति १२ बजेसम्मका लागि थपिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपूर्ति सहज बनाउन खाद्यान्न पसलहरु निश्चित दिन तोकेर केही समय खोल्न दिने निर्णय गरिएको छ। जस अनुसार, निषेधाज्ञा थपिएको अवधिमा १ गते, ३ गते र ५ गते बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म खाद्यान्न पसल खोल्न दिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
निषेधाज्ञाको समयमा खोलिने खाद्यान्न पसलमा बिक्रेता तथा उपभोक्ताले स्यानिटाइजर, मास्क तथा पञ्जा अनिवार्य प्रयोग गर्नुपर्ने, बिक्रेताले भौतिक दूरी कायम हुने गरी बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने शर्त तोकिएको छ।
रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमणको जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा लम्ब्याइएको छ। पछिल्लो केही दिनमा ईशनाथ, गौर, गरुडा र राजदेवी नगरपालिकामा समुदाय स्तरमा नै कोरोना संक्रमण देखिएको छ।
नेपाल र भारतसितको सम्पूर्ण सिमाना पूर्ण रुपमा सिल गरिनुका साथै आवतजावत बन्द गरिएको छ।
- सञ्जय मित्र, रौतहट