भरतपुर अस्पतालका चार चिकित्सकसहित पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टसहित चार चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको छ। अर्का एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ। आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए।
सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ। अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताए। उनले भने, “यो सङ्कटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ।”
चितवनका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना सङ्क्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए। अस्पतालका संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिए।
काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो। प्रसूति विभागका प्रमुखलाई कोरोना सङ्क्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ।
तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।