काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो बजार क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा भिडभाड गर्न रोक लगाएको छ। ती नगरपालिका लगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेला नगर्न/नगराउन नगपालिकाहरुले पनि सूचना जारी गरेका छन्।
यसैबीच बनेपा नगरपालिकाले आजबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कोभिड–१९ सङ्क्रमणको क्रम बढ्दै गइरहेको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै प्रकारका पेशा व्यवसाय पूर्णरूपमा बन्द गर्न पनि निर्देशन दिएको छ।
त्यससँगै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कँदा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट जारी भएका न्यूनतम स्वास्थ्य मापदण्डको पूर्णरूपमा परिपालन गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ। पनौती नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकाले पनि अत्यावश्यक सामग्रीबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाएको छ। सूचना जारी गर्दै नगरपालिकाका अधिकृत मनोज अधिकारीले अत्यावश्यक वस्तु दूध, फलफूल, तरकारी, औषधि, इन्धन, पानीजस्ता सामग्री खरिदका लागि प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि मात्र सञ्चालन गर्न आग्रह गरेको छ। दूध सङ्कलन गर्ने सङ्कलकलाई किसानको पालो तोकेर प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म मात्र भौतिक दूूरी कायम गरी सङ्कलन गर्न आग्रह गरेको छ।
नमोबुद्ध नगरपालिकामा शुक्रबार पहिलोपटक तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ। सङ्क्रमण पुष्टि भएका तीन जना दुबईबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएकाहरु हुन्। उनीहरु समुदायमा घुलमिल नभएका कारण आतङ्कित नहुन नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले सबैमा अनुरोध गरेका छन्।
त्यसैगरी पाँचखाल नगरपालिकाले नगर क्षेत्रमा सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा आजबाट आगामी ६ भदौसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ।