सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, २१ अझै बेपत्ता
जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। २१ जना अझै बेपत्ता छन्।
शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
शनिबार ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव फेला परेको हो। लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए। बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
ज्यान गुमाएकाका परिवारले रु.१ लाख पाउने
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु.१ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु.२५ हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको छ।