रुसले थाल्यो कोभिड–१९ विरुद्धको खोप उत्पादन
रुसले कोभिड–१९ विरुद्धको खोप उत्पादन शुरु गरेको घोषणा गरेको छ। त्यहाँका स्वास्थ्य मन्त्री मिखिल मुराश्कोले शनिबार वक्तव्य जारी गर्दै पहिलो खेपको उत्पादन शुरु गरेको जनाएका हुन्।
पहिला आफ्ना नागरिकलाई भ्याक्सिन लगाइसकेपछि मात्र अन्य देशका लागि उपलब्ध गराइने उनले जनाएका छन्। यो भ्याक्सिनको नाम ‘स्पुत्निक भी’ राखिएको छ। पाचौँको अर्थमा ‘भी’ प्रयोग गरिएको हो। मस्कोले सन् १९५७ मा अन्तरिक्षमा पठाएको स्याटलाइटको नाम पनि स्पुत्निक नै थियो।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार नै विश्वकै पहिलो दर्ता गरिएको खोप स्पुत्निक पाँच उत्पादनको घोषणा गरेका थिए। उक्त खोप मस्को नजिक रहेको चिकित्सा सम्बन्धी संस्था ‘ग्यामालेया रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी’ ले बनाएको हो।
स्वास्थ्य मन्त्री मुराश्कोले यो खोपको प्रभावकारितामा आशंका गर्नुपर्ने कुनै पनि तथ्य अहिलेसम्म नभेटिएको बताएका छन्। उनले आफ्ना नागरिकलाई खोप लगाउन तत्काल शुरु गर्ने पनि जनाएका छन्।
अहिलेसम्म रसियामा करीब नौ लाख १८ हजार संक्रमित फेला परेका छन्। तीमध्ये १५ हजार ६१७ जनाको मृत्यु भएको छ भने करीब सात लाख २९ हजार ५०० जना निको भएका छन्। अहिले रुसमा सक्रिय संक्रमितको संख्या एक लाख ७४ हजार ३६१ छ।
–सिन्ह्वानेटबाट