कोरोना संक्रमित प्रदेश सांसद केसी भन्छिन्– ‘संक्रमण भए साह्रो पार्ने रैछ, हेलचेक्र्याइँ गर्दै नगरौं’
एक साताअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश–५ की प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्। बाँकेको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित उनले कोरोना संक्रमणका कारण स्वास्थ्यमा निकै गाह्रो भएको सुनाउँदै यो भाइरसलाई सामान्य रूपमा नलिन र हेलचेक्र्याइँ नगर्न सबैलाई आग्रह गरेकी छिन्। संक्रमितको स्वास्थ्यमा पर्ने अप्ठेरो भोगेसँगै उनले आफू संक्रमणमुक्त भएपछि कोरोनाका गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने प्लाज्मा दिने घोषणा गरेकी छिन्। कोरोना संक्रमणपछिको अवस्था र अनुभूति उनकै शब्दमाः
मलाई साउनको १४/१५ गतेदेखि जीउ अलिअलि दुख्न थालेको थियो। काम गर्न सक्छु भनेर दुई दिन त संसद्को बैठकमा गएँ। तर, बस्नै गाह्रो भएपछि फर्किएँ। त्यसपछिका दिनमा दुखाइ झन् बढेपछि प्रदेश सभाको बैठकमा जान छाडें।
म बुटवलमा भाडाको कोठामा एक्लै बस्छु। नजिकै अरु माननीयज्यूहरु परिवारसहित बस्नुहुन्छ। उहाँहरुले गाह्रो–साह्रो के पर्यो भनी सोधखोज गरेर सहयोग गर्नुभयो। जीउ कटकटी दुखिरहेपछि मालिस गर्न एकजना दिदीलाई पनि बोलाएँ। तर, केही गर्दा पनि सञ्चो नभएपछि १८ गते राति नेपालगञ्जमा आफन्तकहाँ गएँ।
जीउ दुख्ने लक्षण कोरोनाको होइन होला भन्ने लागेर त्यसपछिका दुई–तीन दिन पनि घरमै बसें। तर, सुत्दा यताउता पल्टिन समेत नसक्ने भएँ। ज्वरो पनि आउन थाल्यो। दिदीबहिनीहरू मेरो हेरचाहका लागि सँगै सुत्नुभयो। असह्य दुखाइ छँदै थियो, ज्वरो पनि आएपछि चाहिं अस्पताल गएँ। अस्पतालमा कोरोना परीक्षण गरिंदा २४ साउनमा कोरोना पोजिटिभ देखियो।
डाक्टरहरूले जीउ दुख्ने लक्षण पनि कोरोनाको भएको बताउनुभयो। पोजिटिभ रिपोर्ट आएपछि कोरोनाका सबै लक्षण देखिए। खानामा अरुचि हुने, खाँदा झन् पेट दुख्ने, पखाला लाग्ने, ज्वरो बढी आउने भयो। कोरोना संक्रमण पुष्टि भएपछि त्यही रात मैले फेसबूक स्टाटस मार्फत आफू संक्रमित भएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन सूचित गरेकी थिएँ।
म डेढ सातादेखि भेरी अस्पतालमा उपचाररत छु। एकदमै गम्भीर अवस्थाबाट अब सामान्य अवस्थामा पुग्दैछु। पोजिटिभ रिपोर्ट आएको १४ दिनपछि अर्को पीसीआर परीक्षण गर्ने भनिएकाले एक साता जति अस्पतालमै हुन्छु होला।
मलाई कोरोनाले धेरै गाह्रो बनायो। बिरामी पर्नेहरुलाई थाहा हुन्छ, यसले कति सताउने रहेछ। त्यसैले यसलाई सामान्य रुपमा नलिऔं। आफूलाई धेरै गाह्रो भएकै कारण मैले मोबाइल चलाउन सक्ने बित्तिकै फेसबूकमा स्टाटस लेखेर आफूलाई स्वास्थ्य लाभ भएपछि संक्रमितको उपचारका लागि प्लाज्मा दिने घोषणा गरेकी छु। कोरोना संक्रमितलाई संक्रमणमुक्त भएको व्यक्तिले प्लाज्मा दिन मिल्ने रहेछ भनेर मैले केही दिन अघि मात्रै थाहा पाएकी थिएँ।
अहिलेसम्म हामीकहाँ धेरैको बुझाइ के रह्यो भने, कोरोनाको लक्षण नदेखिने रहेछ र देखिए पनि सामान्य रुघाकोकी, ज्वरो मात्रै देखिने रहेछ भनेर हल्का रूपले लिने प्रवृत्ति देखियो। यही सोचेर धेरैले हेलचेक्रर्याइँ गर्दा संक्रमण फैलिंदै गयो जस्तो लाग्छ।
कोरोना संक्रमण कसरी हुँदोरहेछ, ठ्याक्कै यकिन गर्न नसकिंदो रहेछ। मलाई कसरी कोरोना भयो भन्ने अचम्म लागेको छ। मेरो निर्वाचन क्षेत्र बाँकेको नरैनापुर कोरोनाको ‘हटस्पट’ हुँदा कैयौं पटक गएकी थिएँ। देशव्यापी बन्दाबन्दीको वेला पनि समुदायस्तरमा धेरै हिंडियो। तर, त्यतिवेला कुनै समस्या आएन। लक्षण धेरै ढिलो देखिएको हो कि ? पछिल्लो समय चाहिं त्यस्तो ठाउँमा हिंडेको थिइनँ र शंकास्पद व्यक्तिहरूसँग भेटे जस्तो पनि लाग्दैन।
अर्कातिर, मेरो जीउ दुख्दा मालिस गरिदिने एउटी दिदी र ज्वरो आएको बेला राति सँगै सुत्ने दुई जना दिदीबहिनी हुनुहुन्थ्यो। उहाँहरुको पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएछ। जुन खुशीको कुरा हो। तर, ज्वरो आउँदा सँगै सुत्नेलाई समेत संक्रमण नहुँदा कोरोना कसरी सर्ने हो भनेर अचम्म लागिरहेको छ।
भेरी अस्पतालमा कोरोनाको बिरामी म मात्र छु। मलाई धेरै गाह्रो भएर यहाँ राखिएको हो। डाक्टर, नर्सहरुले एकदमै राम्रो ख्याल गर्नुभएको छ। तर, शरीरमा शक्ति हराउँदै जाँदा मनोबल पनि खस्किँदो रहेछ। यस्तो बेला आफन्त, साथीभाइ र चिनेजानेकाले दिने आँट, भरोसाले निकै सहयोग पुग्दोरहेछ। कोरोना संक्रमितलाई एक्लै भएको महसूस हुन दिन नहुने रहेछ। म त भन्छु, आइसोलेसन सेन्टरमा बस्नेहरूलाई निश्चित दूरी कायम राखेर आफन्तहरुले भेटघाट र कुराकानी गर्ने वातावरण बनाउन सके राम्रो हुन्छ।
स्वास्थ्य अवस्था सामान्य भए पनि अस्पतालमा लगातार १४/१५ दिन एक्लै बस्न गाह्रो हुन्छ। टेलिफोन वा भिडिओ कल गरेर मनोपरामर्श दिने व्यवस्था गर्नु पनि एकदमै जरुरी छ।
प्रस्तुतिः लक्ष्मी बस्नेत